काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं दाङ क्षेत्र नम्बर दुइकी प्रतिनिधि सभा सांसद रेखा शर्माले पक्राउ परेका स्वर्गद्धारी गुठी किसानलाई विनासर्त रिहा गर्नुपर्ने बताएकी छन् । गत माघ २० गतेदेखि स्वर्गद्धारी गुठि किसानले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका थिए । आइतबार काठमाडौमा भएको प्रदर्शनमा प्रहरीसंग झण्डप हुँदा १२ जना मोही किसानलाई पक्राउ गरी भद्रकाली हिरातमा राखिएको छ ।
सरकारले मोही किसानको माग सम्बोधन गरेर घर पठाउनुपर्नेमा उल्टै दमन गर्नु गलत भएको शर्माले बताइन । ‘ काठमाडौँमा आज झण्डप हुँदा किसान र प्रहरी दुबैतर्फ घाइते भएको कुरा आएका छन् । अहिले १२ जना मोही किसान पक्राउ परेर भद्रकाली जेलमा राखिएको छ । उनीहरुलाई मुद्धा लगाउने कार्य गर्नुहुँदैन’ उनले भनिन्, ‘सरकारले सकारात्मक रुपमा लिएर कानुन बनाई समस्या सम्बोधन गर्नुपर्छ । विनासर्त रिहा गरेर समाधानको बाटोमा जानुपर्छ ।’ सरकारले मोही किसानको माग सुनेर सम्बोधन गर्नु पर्नेमा प्रहरी लगाएर दमन गर्नु गलत भएको उनले जिकिर गरिन् ।
‘स्वार्गद्धारी गुठी मोही किसानहरु लामो समयदेखि काठमाडौमा आन्दोलनरत छन् । यो चिसोमा काठमाडौँ पटक पटक आउने जाने धेरै गरे । प्रधानमन्त्री मन्त्रीलाई भेटेर आश्वासन पाए । राजनीतिक दलका नेताहरुलाई भेटे । फेरी दाङ जिल्ला फर्किए’ उनले भनिन्, ‘किसानले कानुन बनाएर लालपूर्जा देउ भनेर माग राखेका थिए । जुन जग्गा लामो समय आफै जोतभोग गर्दै आएका छन् । सरकारले उनीहरुको माग सुनेन । संसदमा जनप्रतिनिधिहरुले संसदमा यति धेरै बोलेको कुरा सुनिएन । सरकार समस्या सम्बोधन गर्नतिर लागेन । गुठी किसानलाई भेटेर माग पुरा गर्ने र कानुन बनाउनतिर ध्यान दिएन ।’ सरकारले जनतालाई दुख नदिएर दाङ पठाउनुपर्नेमा किसानलाई दमन गर्नु दुखद भएको उनले बताइन ।
स्वर्गद्वारी आश्रमअन्तर्गत दाङका विभिन्न ठाउँमा भएको एक हजार ५० विगाह जग्गामध्ये ७ सय ५३ बिघामा मोही रहेको छ भने उक्त जग्गामा ३ हजार ५ घरधुरीका १५ बढी घरधुरी किसानले बसोवास गर्दै आएका छन् ।