गण्डकी । गण्डकी प्रदेशमा गत वर्ष ४६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो ।
सुक्खायाम सुरु भएसँगै यस वर्ष पनि डढेलोको जोखिम बढेको छ । सामन्यतयाः फागुनदेखि जेठसम्मको समयलाई डढेलोको याम भनेर चिनिन्छ ।
मुख्यगरी चैत र वैशाखमा डढेलोका घटना बढी हुने गरेको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । सुक्खायाम लम्बिँदा डढेलोको जोखिम पनि बढ्दै जाने उनको भनाइ छ ।
आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनास मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ । घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका किसान मारमा परेका छन् । डढेलोले वन क्षेत्रमा हुने बोटबिरूवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए ।
'डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनको समेत क्षति हुन्छ,' उनले भने । डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्याइरहेको वन अधिकृत थापाले बताए ।
गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्ज्वलनशील हुनेहुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ ।
हिउँदे वर्षा नहुनु, हुरीबतासको यामजस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको वन अधिकृत थापाले बताए । मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ ।
५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरवाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको विज्ञहरू बताउँछन् । पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको जोखिम बढिरहेको बताइन्छ ।
आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रूप लिने गरेको छ । वन डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदूषण निम्त्याउने वन अधिकृत थापाले बताए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले कानुनको प्रभावभारी कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए । 'डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था छ,' उनले भने, 'दोषीलाई तीन वर्षको जेल, ६० हजारसम्म जरिवाना या दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।'
सुक्खायामपूर्व डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने वन अधिकृत थापाले बताए । वनमा अग्नि रेखाको निर्माण, सरसफाइजस्ता कार्य नियमित गर्नुपर्ने र डढेलो नियन्त्रणमा जनसहभागिता जुटाउनुपर्ने उनको भनाइ छ ।