काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावका कारण खानेपानी, कृषि र जलविद्युतमा असर गरेको बताएका छन् । विश्व पानी दिवसको अवसरमा शनिबार सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल ९सोफेन०ले आयोजना गरेको ‘दिगो खानेपानी सरसफाइ तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा उनले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले खानेपानी, कृषि र जलविद्युतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरुरी बताए ।
‘पानी जीवनको आधार हो । पानी बिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन । यसर्थ हिमनदीको संरक्षण गर्न जरुरी छ,’ मन्त्री यादवले भने । खानेपानी मन्त्रालय संविधानले प्रत्याभूत गरेको मौलिक हकअनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न कटिबद्ध रहेको पनि उनले बताए । सुधारिएको स्वच्छता र फोहोर पानी व्यवस्थापनका लागि ठोस लगानी गर्दै सहरी तथा ग्रामीण दुबै क्षेत्रमा सन्तुलित विकास गर्ने, महिनाबारी स्वास्थ्य व्यवस्थापन, सामुदायिक शौचालय तथा सरसफाइ बजार प्रवर्द्धन गर्न पूर्वाधारलगायतका प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको मन्त्री यादवले बताए ।
नेपालमा पनि पानीलाई मानव अधिकारको रूपमा सुनिश्चित गर्ने संवैधानिक व्यवस्था भएको र व्यावहारिक कार्यान्वयनमा अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।