बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

निकुञ्जमा बाघको संख्या बढ्दा बासस्थानमा समस्या


  • 658
    SHARES
  • https://indrenipost.com/posts/8453
    चैत ११, २०८१ सोमबार
    निकुञ्जमा बाघको संख्या बढ्दा बासस्थानमा समस्या

    चितवन । नेपालमा बाघको संख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको संख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । 

    चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए । विगत पाँच वर्षयता बाघको संख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए ।

    उनले भने, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।”

    नेपालमा बाघको संख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको संख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो । 

    बाघको संख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताए । एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो संख्या घटेर पाँच हजार पुगेको उनले जानकारी दिए । पछिल्ला वर्षमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको संख्या बढ्दै गएको हो ।

    नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताए । उनले भने, “निकुञ्जको कोर क्षेत्रमा चार सय चार बाघ राख्न सकिने देखिन्छ ।” 

    बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ । मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij