मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

नेपालबाट भारत निर्यात हुने प्लाइउडमा भारतको अवरोध, ३४ वटा ट्रक बाटोमा अलपत्र

  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8482
    चैत १३, २०८१ बुधबार
    नेपालबाट भारत निर्यात हुने प्लाइउडमा भारतको अवरोध, ३४ वटा ट्रक बाटोमा अलपत्र

    विराटनगर । नेपालबाट भारत निर्यात हुने प्रमुख वस्तुको रूपमा रहेको प्लाइउड निर्यातमा भारतले अवरोध गरेको छ ।


    पूर्वी नाका काकाँडभिट्टाबाट भारत गएका ३४ वटा ट्रक अहिले बाटोमा अलपत्र परेका छन् । काँकडभिट्टा नाकाबाट मात्रै नभई अन्य नाकाबाट निर्यात हुने प्लाइउडमा निर्यातमा अवरोध गरेको हो । दुई साता देखि प्लाइउड बोकेका ३४ वटा ट्रक बाटोमा अलपत्र परेका छन् । ती ट्रकलाई भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईँले बताए ।

    ती ट्रकहरू दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भनी निर्यातमा रोक लगाएको हो ।

    बीआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड निर्यातमा अवरोध भएको छ । यस अघि बीआइएस विना प्लाइउड निर्यात हुँदै आएको थियो । प्रसाईँका अनुसार काँकडभिट्टा मात्र नभई नेपालका अरू नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पुर्‍याइरहेको छ ।

    “नेपालबाट प्लाइउड बोकेर भारत गएका ती ट्रकहरू पानीट्याङ्कीस्थित भारतीय भन्सारमा रोकिएका छन्”, अध्यक्ष प्रसाईँले भने “न जान दिएको छ, न स्वदेश नै फर्काउन सकिने अवस्था छ ।”

    आर्थिक वर्ष २०८०/०८१ मा नेपालबाट रु सात अर्ब ४३ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । आव २०७९/८० मा रु चार अर्ब ७० करोड र आव २०७८/०७९ मा रु ३५ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो ।

    नेपालमा ८० वटा प्लाई उद्योग स्थापना भएका छन् । एउटा उद्योग स्थापनाका लागि न्यूनतम रु २५ करोड लगानी हुने उद्योगीहरू बताउँछन् ।

    प्लाइउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने निर्यात वस्तु भएकाले यसको निर्बाध निर्यातको वातावरण बनाउन सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति बनाउनुपर्ने उद्योगी ऋषिराम तिम्सिनाले बताए ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij