काठमाडौं । पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नका लागि बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
सरकारलाई पूर्णता दिने विषयमा परिणाममुखी ढंगले काम अगाडि बढाउने शीर्ष नेतालाई जिम्मेवारी दिएको जनता समाजवादी पार्टीको अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिए ।
उनले भने, ‘मन्त्रिपरिषद् विस्तारलाई अब ढिलाइ गर्न हुन्न भन्ने कुरामा सबै दलका नेताहरु एकमत हुनुहुन्छ । त्यसैले अब तत्कालै दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाएर सरकारले पूर्णता पाउँछ ।’
अध्यादेश भोलि नै फिर्ता लिनेबारे सहमति बनेको हो ? भन्ने प्रश्नमा नेता यादवले भने, ‘भोलि नै भन्ने छैन । तर, अब शीर्ष नेताहरूले परिणाममुखी ढंगले काम गर्नुहुन्छ । चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा हामी ढुक्क छौँ ।’