काठमाडौं । सरकारले नेकपा एमालेलाई विभाजित गर्ने योजनासहित ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गते ल्याइएको राजनीतिक दलसम्बन्धी उक्त अध्यादेश फिर्ता लिँदै राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए । सरकारले राजनीतिक दल विभाजनको अध्यादेश प्रतिनिधि सभामा पेश गरे पनि छलफलका लागि प्रक्रियामा अघि बढाएको छैन ।
सरकारले एमाले विभाजनका लागि माधवकुमार नेपाललाई सजिलो बनाइदिन ४० प्रतिशतको थ्रेस होल्ड घटाएर २० प्रतिशतमा झारिदिएको थियो । त्यसकै सहयोगमा नेपालले एमाले विभाजित गरिसकेका छन् । त्यस्तै यही अध्यादेशको सहयोमा जसपाबाट अधिकारिकता गुमाएका महन्थ ठाकुरले पनि लोकतान्त्रिक समाजवादी पार्टी बनाइसकेका छन् ।
अध्यादेश फिर्ता लिएसँगै मंगलबार वा बुधबारसम्म मन्त्रिमण्डल विस्तार तयारी पाँच दलीय गठबन्धनले गरेको छ । मन्त्रिपरिषद् विस्तारका क्रममा सहभागी हुन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सम्भावित मन्त्रीको सूची तयार पारिसकेको बताइएको छ ।
अध्यादेश फिर्ता लिएसँगै सोमबार नै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालय भागवण्डाको टुंगो लगाउने तयारी रहेको छ ।