काठमाडौं । सरकारले सोमबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रिमण्डल विस्तारको बाटो खुलेको छ । सत्ता गठनबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले आफ्नातर्फबाट सरकारमा पठाउने मन्त्रीहरूको नाम आज टुंगो लगाउने जनाएका छन् ।
यसर्थ आजै साँझ वा भोलि बुधबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना रहेको प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ । एकीकृत समाजवादी पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन मन्त्रालय दिने समझदारी बनिसकेको छ, अन्य मन्त्रालयको मात्र टुंगो लाग्न बाँकी छ ।
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मन्त्रालय भागबन्डाबारे छलफल जारी रहेको बताएका छन् । यस्तै माओवादी केन्द्रबाट अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनिसकेकाले अन्य दलसँगको सहमति भएपछि मात्र मन्त्रालय टुंगो लगाउनेछ ।