काठमाडौं । सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । गठबन्धनको आज बैठक बसेर मन्त्रालय भागबन्डा मिलाउने र भोलि गठबन्धन दलले आ–आफ्नो पार्टीमा निर्णय गरी मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई दिने तयारी थियो । तर, प्रधानमन्त्री शेरहादुर देउवा आफ्नै पार्टीको विवाद मिलाउन व्यस्त भएपछि अहिलेसम्म गठबन्धनको बैठक आह्वानसमेत भएको छैन ।
पार्टीको प्रदेश नम्बर–२ का आठ जिल्लाको क्रियाशील विवाद थप चर्किँदै जाँदा यसअघि छलफल गरेर बन्द गरिएका फाइलसमेत पुनः खोल्ने अवस्था निर्माण भएको छ । कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील विवाद समाधान समितिले गरेका निर्णयसमेत कार्यदलबाट कार्यान्वयन हुन नसकेपछि प्रदेश नम्बर–२ को वडा अधिवेशन नै दसैँपछि पुग्ने अवस्था निर्माण भएको कार्यदलका एक सदस्यको भनाइ छ ।
“प्रधानमन्त्रीज्यू पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानमा आज बिहानदेखि नै व्यस्त हुनुहुन्छ, पार्टीका फरक–फरक टिमसँग छलफल गरिरहनुभएको छ,” बालुवाटार स्रोतले भन्यो, “आज चाँडै पार्टीको विवाद समाधानको प्रयासले सार्थकता पायो भने साँझसम्म गठबन्धन बैठक बस्न सक्छ ।”
स्रोतका अनुसार आज सम्भव नभए भोलि बिहान बैठक बसेर मन्त्रिपरिषद्मा गठबन्धनको सहभागिताका विषयमा भागबन्डा टुंग्याइनेछ ।