काठमाडौँ, १९ असार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संविधान सभाद्वारा जारी संविधानलाई सुदृढ बनाउने र राजनीतिक उपलब्धि उल्टयाउनेबीच लडाइँ चलिरहेको कुरा बताएका छन । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको दुर्गानारायण ढकालको ‘समाजवादी दर्पणको रुपरेखा’ नामक पुस्तकको विमोचन गर्दै भने, “संविधानका मूलभूतः मान्यतालाई इमान्दारिताका साथ पालना गर्ने र संविधानलाई उल्ट्याउने र त्यसलाई फेरि प्रतिक्रियावादी अनुकुल बनाउनेबीच सङ्घर्ष चलिराखेको छ ।’
अगाडि आफुले सरकारको नेतृत्व गरेको बेलामा नीति कार्यक्रम तथा बजेटमार्फत मुलुकलाई समाजवादी यात्रामा अघि बढाएको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त प्रयासलाई जनतासमक्ष लैजान बुद्धिजीविलाई आग्रह गरेका छन । “पहिलोपटक सरकारको नेतृत्व गर्दा गरिब किसानको ऋण एकैसाथ मिनाह गरिएको थियो । पूर्व–पश्चिम लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर भौतिक पूर्वाधारद्वारा राष्ट्रिय एकतालाई सुदृढ गर्नेकुरा देशलाई समाजवादतिर लैजाने प्रयास थियो”, उनले भने, “अहिले त्यो व्यवहारतः कार्यान्वयनको चरणमा पुगेको छ । तर हाम्रा बुद्धिजिवीले न त्यसलाई अन्तरनिहित रूपमा बुझ्न चाहन्छन् न इमानदारिताका साथ जनतालाई भन्न चाहन्छन् समस्या यही निर रहेको छ।”
समाजवादको मुख्य तगारो दलाल पुँजीवाद भएको जिकिर गर्दै अध्यक्ष दाहालले अहिले त्यस प्रवृत्तिविरुद्ध सङ्घर्ष जारी रहेको बताएका छन । “विचौलियाले राष्ट्रिय अर्थतन्त्रलाई जसरी पनि कब्जा गर्ने प्रयास गरिरहेको छ, अहिले भ्रष्टाचारीको संरक्षण र दलाल पुँजीवादको पक्षपोषण गर्नेलाई पनि कम्युनिस्ट नै भनिएको छ । त्यसविरुद्ध लड्नेलाई पनि वामपन्थी नै भनिएको छ । दुवै उस्तै हुन् भनेर जुन भाष्य बनाउन खोजिएको छ, यो नै गलत छ”, स बिस्तार उनले भने ।