भक्तपुर, १४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरले पछिल्लो आर्थिक वर्षमा विदेशी पर्यटकबाट आकर्षक आम्दानी गरेको छ। एक वर्षको अवधिमा मन्दिरमा ३१ हजार २२५ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका अनुसार तीमध्ये भारतलगायत सार्क राष्ट्रबाट ५ हजार ७५६ तथा अन्य मुलुकहरूबाट २५ हजार ४५९ पर्यटक आएका हुन् ।
विदेशी पर्यटकको आगमनसँगै चाँगुनारायणले पर्यटन शुल्कबापत रु १ करोड १९ लाख १० हजार ४०० आम्दानी गरेको छ। सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु ३०० का दरले रु १७ लाख २६ हजार ८०० सङ्कलन गरिएको छ भने अन्य राष्ट्रबाट प्रतिव्यक्ति रु ४०० का दरले रु १ करोड १ लाख ८३ हजार ६०० उठाइएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबाट प्राप्त रकम चाँगुनारायण क्षेत्रका साथै नगरभित्रका अन्य ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा खर्च गरिँदै आएको जानकारी दिएका छन ।
चाँगुनारायण मन्दिर नेपाली कला, संस्कृति र इतिहासको एक महत्वपूर्ण प्रतीक मानिन्छ र विदेशी पर्यटकको रोजाइमा पर्ने प्रमुख गन्तव्यका रूपमा परिचित हुँदै आएको छ ।