त्रिशूली नुवाकोट, १४ साउनः आगामी दसैँअघि नै रसुवागढी नाका सञ्चालनमा ल्याउने तयारीस्वरूप ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्ग विस्तार योजनाअन्तर्गत उक्त काम अगाडि बढाइएको जानकारी दिएका छन ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना अन्तर्गतको कामको अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री दाहालले दसैँ पर्व लक्षित गरी नाका सञ्चालनका लागि सरोकारवाला निकाय परिचालित गरिएको बताए ।
गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले नेपाल–चीन मित्रताको प्रतीक मानिने मितेरी पुल बगाएको थियो । त्यसपछि यातायात अवरुद्ध बनेको थियो । तर अहिले बेलीब्रिज जडान सुरु भएसँगै पुनः आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
मन्त्री दाहालले चीन सरकारको सहयोगमा स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड सञ्चालनमा ल्याउने सहमति पनि भइसकेको उल्लेख गर्दै चाडपर्वका बेला सीमावर्ती व्यापारिक आवागमनलाई सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन ।