आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

राप्ती नदी किनारमा आपत्कालीन तटबन्ध बाढी त्रासबाट मुक्त स्थानीय


  • 433
    SHARES
  • https://indrenipost.com/posts/9675
    साउन १४, २०८२ बुधबार
    राप्ती नदी किनारमा आपत्कालीन तटबन्ध  बाढी त्रासबाट मुक्त स्थानीय

    नेपालगञ्ज, १४ साउन — बाँकेको राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियाका बासिन्दा अब ढुक्कसँग बर्खे बाढीको मौसम पार गर्ने तयारीमा छन् । बिगतका वर्षमा बाढीको त्राससँग बाँचिरहेका स्थानीयका लागि राप्ती नदी किनारमा निर्माण गरिएको आपत्कालीन तटबन्ध आशाको संकेत बनेको छ ।
    राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट तटबन्ध निर्माण गरिएको हो । जनताको तटबन्ध कार्यालय लमही, दाङको पहलमा रु ६ करोड ५० लाख लागतमा निर्माण थालिएको तटबन्धबाट खल्ला झगडिया मात्र होइन, वरपरका दर्जनौँ गाउँ लाभान्वित हुनेछन् ।
    वडाध्यक्ष रामलखन थारुले तटबन्ध बनेपछि अब बाढीको डर हटेको बताउँदै भने, “अब ढुक्कसँग बस्न पाइन्छ भन्ने विश्वास बढेको छ ।” तीन वर्षअघि भत्किएको तटबन्धका कारण दर्जनौँ गाउँ डुबानको जोखिममा थिए । विसं २०७१ को बाढीपछि राप्तीले धार परिवर्तन गर्दा खल्ला झगडियालगायत गाउँहरू उच्च जोखिममा परेका थिए ।
    जनताको तटबन्ध कार्यालयका प्रमुख डा। नारायणप्रसाद सुवेदीका अनुसार आपत्कालीन तटबन्धले वर्षाको बेलामा तत्कालको सुरक्षा दिनेछ भने वर्षा सकिएपछि स्थायी संरचना निर्माणको प्रक्रिया अघि बढाइनेछ । “हामीले ‘बेम्बोपाइलिङ र कङ्क्रिट प्रकुपाइन’ प्रविधिलाई एकीकृत रूपमा प्रयोग गरेका छौँ, जुन खर्चमा पनि किफायती र प्रभावकारी छ,” उनले भने ।
    तटबन्धमा बाँस, बालुवाभरिएका प्लास्टिकका बोरा, जाली तथा सिमेन्ट पोल प्रयोग गरिएको छ । यस्तो प्रविधि पूर्वी नेपाल र पश्चिम राप्तीमा पनि सफल भइसकेको उल्लेख गर्दै डा। सुवेदीले भारतले समेत नेपालबाट सिकेर यो प्रविधि अपनाएको जानकारी दिएका छन ।
    स्थानीय दुर्गा पाण्डे भन्छन्, “अब बर्खामा गाउँ डुब्ने डर छैन भन्ने विश्वास बढेको छ ।” नयाँ तटबन्धले देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिका–६ का सोनवर्षा, कुदरवेटवा, गङ्गापुर, भगवानपुर, वडा नं. ५ का नवाजीगाउँ, भोजपुर तथा डुडुवा गाउँपालिका–१ का कुडवागाउँका बासिन्दा लाभान्वित हुनेछन् ।
    स्थानीय तह, सरकारी निकाय र प्रविधिको समन्वयले राप्ती किनारका बासिन्दालाई सुरक्षित बनाएको यो पहल अन्य बाढीप्रभावित क्षेत्रका लागि पनि उदाहरणीय बन्न सक्ने देखिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij