काठमाडौँ, १५ साउन – नेपाली समाजमा आज साउन १५ गतेको अवसरमा परम्परागत रूपमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुको मध्यमा पर्ने यो दिनलाई दूध, चामल, चिनी र मरमसला हालेर बनाइने स्वादिलो परिकार ‘खीर’ खाएर विशेष रूपमा मनाउने चलन रहिआएको छ ।
धार्मिक दृष्टिले पनि विशेष महत्व बोकेको खीरलाई संस्कृत भाषामा ‘पायस’ भनिन्छ, जुन सात्विक आहार मानिन्छ र देव तथा पितृकार्यमा अनिवार्य रूपमा प्रयोग गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार साउन महिनामा खेतीपातीको चटारो कम हुने, घाँस प्रशस्त हुने र गाई–भैँसीले पर्याप्त दूध दिने भएकाले घर–आँगनमा खीर पकाएर इष्टमित्र र चेलाबेटीलाई खुवाउने परम्परा बसेको हो ।
साउन महिना भगवान् शिवको विशेष मास हो । शिवलाई दूध तथा दूधबाट बनेका परिकार मनपर्ने भएकाले खीर शिवलाई चढाउने चलन पनि रहिआएको छ । यद्यपि, साउन १५ मा खीर खाइने विशेष शास्त्रीय वचन नभए पनि यो सामाजिक परम्परा स्वास्थ्यप्रद एवं पारिवारिक सम्बन्ध मजबुत बनाउने मौलिक चलनका रूपमा रहेको गौतमले बताए ।
चामल, मकै, गाजर, सेवई, सावधाना आदिबाट बनाइने खीर विभिन्न स्वादमा तयार पारिन्छ । सावधानालाई फलफूलकै श्रेणीमा राखिन्छ । साउन महिनामा हरियो मकै सजिलै पाइने भएकाले मकैको खीर पनि लोकप्रिय मानिन्छ । नेपाली बृहत् शब्दकोशमा खीरलाई “दूधमा चामल, चिनी, मसला आदि हालेर पकाइएको स्वादिष्ट खाद्यपदार्थ” भनेर परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ मा दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घीउ खट्टे र माघ १५ मा मालपुवा बनाएर परिवार तथा आफन्तसँग साटासाट गर्ने चलन छ ।
यसै अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’को रूपमा मनाउँदै आएको छ, जसले दुग्धजन्य उत्पादनको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।