काठमाडौँ, १ भदौः चालु वर्षको चार महिनाको अवधिमा २,८८१ विपद्जन्य घटनाबाट १३० जनाले ज्यान गुमाएका छन् । वैशाख १ देखि भदौ १ गतेसम्म भएका घटनामा २२ जना बेपत्ता, ५९७ जना घाइते तथा पाँच हजार १४१ परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतका अनुसार आगलागीका बढी घटना भए पनि बाढी, पहिरो र चट्याङका कारण धेरै मानिसको मृत्यु भएको हो । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढीका २३३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् भने पहिरोका ३१८ घटनामा १६ जनाको मृत्यु भएको छ । त्यस्तै, भारी वर्षाका २८७ घटनामा ४ र चट्याङका २४८ घटनामा २९ जनाको मृत्यु भएको छ ।
यसैगरी, सर्पदंशका ७७ घटनामा ११, आगलागीका १,१२३ घटनामा १५, हावाहुरीका २७७ घटनामा ८, जनावर आक्रमणका १७४ घटनामा १४ र लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामै मात्र ४४ विपद्का घटना भएका छन् । ती घटनामा ३ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।