काठमाडौँ, १ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भएको शिष्टाचार भेटका क्रममा उक्त निमन्त्रणा दिएका हुन् । भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार भेटवार्तामा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विभिन्न पक्षमा छलफल गरिएको थियो ।
यद्यपि भ्रमणको मिति अहिलेसम्म दुवै पक्षले औपचारिक रूपमा घोषणा गरेका छैनन् । कूटनीतिक संयन्त्रबीचको आपसी समझदारीपछि मात्र भ्रमण कार्यतालिका सार्वजनिक गर्ने तयारी भएको बताइएको छ ।