काठमाडौँ, १ भदौः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी सडक चाँडो मर्मत गरी केरुङ नाका सञ्चालनमा ल्याइने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको छलफलमा उनले बाढीले भत्काएको पुल र अवरुद्ध सडक मर्मत गरेर व्यापार तथा यातायातमा सहजता ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि असार २४ गते हिमताल विस्फोटपछि आएको बाढीले रसुवास्थित ल्हेन्दे खोलामा पुल बगाउँदा केरुङ नाका बन्द भएको थियो । मन्त्री दाहालले पुलसँगै सडक निर्माण नहुँदा चीनतर्फ रोकिएका सामान नेपाल ल्याउन समस्या भएको उल्लेख गर्दै, वैकल्पिक उपायको खोजी भइरहेको बताए ।
समितिका सभापति दीपकबहादुर सिंहले दसैँ–तिहार नजिकिएकाले चीनसँग जोडिएका नाका चाँडो सञ्चालन गर्न सरकारसँग आग्रह गरे । सांसद माधव सापकोटा, प्रकाश ज्वाला, निशा डाँगी लगायतले सडक छिटो मर्मत गरी चाडपर्वलाई सहज बनाउनुपर्नेमा जोड दिए ।
सचिव केशवकुमार शर्माले केरुङ नाकामा रोकिएका जरुरी सामान वैकल्पिक माध्यमबाट ल्याउन तयारी भइरहेको जानकारी दिएका छन ।
यसरी सरकारले चीनसँगको व्यापारिक नाका सञ्चालनलाई प्राथमिकता दिँदै अवरुद्ध सडक छिटो पुनः सञ्चालन गर्ने तयारी गरेको छ ।