काठमाडौँ, १३ भदौः पछिल्ला २४ घण्टामा सुर्खेतमा मुसलधारे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा २९२।३ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन पछिल्ला दिनहरूमा सबैभन्दा बढी हो ।
वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रका निश्चित स्थानहरूमा भारी वर्षा भइरहेको छ ।
पर्वतको पञ्चासेमा १७९.३ मिलिमिटर, बाँकेमा १४६.३, दाङमा १३८, दार्चुलामा १०७ र सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । त्यस्तै, १२ भन्दा बढी केन्द्रमा ८० देखि १०० मिलिमिटर वर्षा भएको र धेरै स्थानमा ५०–८० मिलिमिटर वर्षा भएको छ ।
मौसमविद् मानन्धरले आज दिउँसो र साँझसम्म वर्षा अझै बढी हुने र भोलिदेखि भने केही कम हुने अनुमान गर्नुभएको छ ।
विभागका अनुसार पश्चिमी क्षेत्रमा स्थानीय प्रणालीका कारण र पूर्वी क्षेत्रमा बंगालको खाडीबाट आएको मौसमी प्रभावका कारण वर्षा भएको हो । हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी मनसुन सक्रिय छ भने देशभर सामान्य बदली रहेको छ ।