शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

कर्णाली प्रदेशमा १० वर्षमा विपतबाट ६१९ जनाको मृत्यु, साढे तीन अर्ब क्षति


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/10038
    भदौ १४, २०८२ शनिबार
    कर्णाली प्रदेशमा १० वर्षमा विपतबाट ६१९ जनाको मृत्यु, साढे तीन अर्ब क्षति

    भेरीगङ्गा सुर्खेत, १४ भदौ । पछिल्लो दस वर्षमा कर्णाली प्रदेशमा विभिन्न विपद्का कारण ६१९ जनाले ज्यान गुमाएका छन् भने झण्डै रु साढे तीन अर्ब बराबरको आर्थिक क्षति भएको छ ।
    कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार २०७२ देखि २०८१ सालसम्मको अवधिमा विपद्का कारण ६१९ जनाको मृत्यु हुनुका साथै ६८ जना बेपत्ता भएका छन् । यस अवधिमा एक हजार २६६ जना घाइते भएका छन् ।
    तथ्याङ्क अनुसार सबैभन्दा बढी जाजरकोटमा १८४ जनाको मृत्यु भएको छ भने मुगुमा सबैभन्दा कम २६ जनाको ज्यान गएको छ । यसैगरी रुकुममा ९२, कालीकोटमा ८४, जुम्लामा ४७, हुम्लामा ४६, सल्यानमा ३९, दैलेखमा ३६, डोल्पामा ३५ र सुर्खेतमा ३० जनाले ज्यान गुमाएका छन् ।
    प्रदेशमा एक दशकमा सबैभन्दा बढी १८० जनाको मृत्यु पहिरोबाट भएको छ । यस्तै भूकम्पले १५४, आगलागीले ६४, चट्याङले ४६, बाढीले ३९, महामारीले ३४, लेक लागेर २५, वन डढेलोमा १५, डुबानमा १४ र भारी वर्षाले १३ जनाको ज्यान लिएको छ ।
    आर्थिक क्षतिको हिसाबले सबैभन्दा बढी भूकम्पबाट भएको तथ्याङ्कले देखाउँछ । गत वर्ष जाजरकोटमा गएको भूकम्पलगायत घटनाले मात्रै रु दुई अर्ब ४७ करोडभन्दा बढी क्षति पुर्‍याएको प्रदेश सरकारका विपद् सहजकर्ता उज्वल अधिकारीले जानकारी दिए ।
    सम्भावित विपद्का कारण हुने क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। मनसुनमा हुने जोखिम न्यूनीकरणका लागि समेत पूर्वतयारी योजना अनुसार काम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले बताएका छन ।
    उनका अनुसार कक्षा ९ देखि १२ सम्मका १३ हजार विद्यार्थीलाई विपतबाट जोगिन सक्ने उपायबारे सचेतना दिलाउन हातेपुस्तक वितरण गर्ने योजना बनाइएको छ । यसबाट जनस्तरमा चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij