बिहीबार , भदौ १९ गते २०८२ Sep 04 2025 Thursday
images
images

जनयुद्धमा महिलाको योगदानले मात्र सम्भव भयो ३३ प्रतिशत अधिकारः अध्यक्ष दाहाल


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/10097
    भदौ १८, २०८२ बुधबार
    जनयुद्धमा महिलाको योगदानले मात्र सम्भव भयो ३३ प्रतिशत अधिकारः अध्यक्ष दाहाल

    काठमाडौँ, १८ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा महिलाको सहभागिताले नै नेपालको संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार सुनिश्चित गराएको दाबी गरेका छन । उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि विचार मिल्ने इमान्दार शक्तिबीच एकता अपरिहार्य रहेको बताउँदै संविधान र उपलब्धि उल्ट्याउने प्रयासविरुद्ध सचेत रहन सबैलाई आग्रह गरे ।
    अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले हजारौँ महिलाले जनयुद्धमा गरेको बलिदान र सहभागिताले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, गणतन्त्रात्मक शासन प्रणाली र राज्यका संरचनामा महिलाको प्रतिनिधित्व सम्भव भएको स्पष्ट पारे । उनले भने, “यदि महिलाको योगदान र त्याग नभएको भए आज हामीसँग ३३ प्रतिशत अधिकार हुने कुरै थिएन ।”
    दाहालले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता पुनः औंल्याए । उनले संविधान निर्माणकै क्रममा जननिर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनिवार्य हुनुपर्ने बताएको स्मरण गर्दै अहिले त्यो आवश्यकता झन् बढी देखिएको बताए । संविधानले सबै उद्देश्य पूरा गर्न नसके पनि सम्झौताको दस्तावेजका रूपमा ल्याइएको स्वीकार गर्दै उनले हाल संविधान कार्यान्वयनभन्दा उपलब्धि उल्ट्याउने खतरा बढेकोप्रति चिन्ता व्यक्त गरेका छन ।
    सम्मेलनलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष पम्फा भुसालले महिलाको पूर्ण मुक्ति वैज्ञानिक समाजवादमार्फत मात्र सम्भव हुने विचार व्यक्त गरेकी छिन । उनले उत्पादनका स्रोतमा समान पहुँच, क्षमता र योगदानका आधारमा मात्र महिलाको अधिकार स्थापित हुने भन्दै उपलब्ध अधिकारको रक्षा गर्दै थप अधिकारका लागि निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन ।
    त्यस्तै, माओवादी नेतृ शशि श्रेष्ठले संविधानमा व्यवस्था भएका महिला हक अधिकारको कार्यान्वयनका लागि सम्पूर्ण महिला एकताबद्ध हुनुपर्नेमा जोड दिएकी छन । उनले समानुपातिक समावेशी सिद्धान्तलाई बलियो बनाउनुपर्ने बताउँदै संविधान संशोधनका क्रममा महिलाको अधिकार खोसिन सक्ने सम्भावनाप्रति सबैलाई सचेत गराएकी छन ।
    भरतपुर महानगर प्रमुख एव महिलासंघकी महासचिब रेनु दाहालले महिलाले पाएको जिम्मेवारी उत्कृष्ट ढङ्गले निर्वाह गरिरहेको तथ्य प्रस्तुत गर्दै अझै अधिकार दिने विषयमा कञ्जुस्याइँ गर्न नहुने धारणा राखिन ।
    कार्यक्रममा अध्यक्ष दाहालले अल्किना बमद्वारा लिखित कृति ‘जुनकिरी हराएको रात’ को लोकार्पण समेत गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij