काठमाडौं । नेकपा (एमाले)बाट अलग भई माधवकुमार नेपालको समूहले गठन गरेको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगबाट दलको मान्यता पाएको डेढ महिना पनि नपुग्दै शुक्रबार सत्तारोहण गर्दै छ । दल दर्ताका लागि गत भदौ २ गते आयोगमा निवेदन दर्ता गराएको नेकपा एकीकृत समाजवादीले भदौ ९ गते प्रमाणपत्र पाएको थियो ।
झन्डै दुई तिहाइ बहुमत पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन प्रमुख भूमिका खेलेका माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी आज चार मन्त्रालयका साथ सत्तामा उक्लिँदै छ । सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच बिहीबार भएको सहमतिअनुसार शुक्रबार शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउँदै छ ।
भागबन्डाअनुसार एकीकृत समाजवादीको भागमा स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय परेका छन् । साथै उसले एक जना राज्यमन्त्री पनि पाएको छ ।
यति मात्र होइन, नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पनि पाउँदै छ । गठबन्धनका दलबीच दुवै प्रदेश सरकार परिवर्तन गर्दै तिनमा एकीकृत समाजवादीका नेतालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।
आफूबाट अलग भएर बनेको पार्टी सत्तामा जाँदै गर्दा कुनै बेला केन्द्रदेखि लगभग सबै प्रदेशमा सरकारको नेतृत्वकर्ता एमाले भने रित्तो हात हुने अवस्थामा आइपुगेको छ । केन्द्र सरकारबाट गत असार २९ गते नै बर्खास्त एमाले अब छिट्टै प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्वबाट पनि घोक्रेठ्याक लाग्दै छ ।