काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध गरेका छन् । कारबाही गरेका १४ सांसदको सभामुख अग्नि सापकोटाले सूचना नटाँसेको भन्दै संसदमा अवरोध गर्दै आएको एमालेले सोमबार फरक नारा लगाएको हो ।
यसअघि कालोधनसहितका विषयलाई मुख्य बनाएर नाराबाजी गर्दै आएको एमालेले सोमबार रुपन्देहीको मोतिपुर गोलीकाण्डलाई प्राथमिकता दियो । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरुले ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरेका छन् ।
चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । एमाले सांसदहरुले सोमबार पनि रोष्ट्रम अगाडि उभिएर ‘कालोधन चाहिँदैन, देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’, ुपक्षपातपूर्ण व्यवहार मुर्दावादु, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद जस्ता नारा लगाएका छन् ।
नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए । एमालेको विरोधबीच सापकोटाले बैठक अघि बढाइरहेका छन् । संसद खुलाउने विषयमा सभामुख र सरकारले पछिल्लो समय एमालेसँग संवाद गर्न सकेको छैन ।