गोपाल ढुंगेल, बामपन्थी लेखक तथा साहित्यकार
गुलबिया आज उदास छ,उसको उदासीसंगै प्रकृति नि रोइरहेको भान हुन्छ...ठ्याक्कै आज बीस दिन भो, हे भगवान!..उसले आफ्नो ठेला संझ्यो,ठेलावाला साहुलाई संझियो,किस्ता बुझाएदेखी जान पाएको छैन।
कति कमाइ गर्ने थिएं यो सिजनमा...अहिले बर्षा सुरु हुन धेरै बांकी छ केही रुपिया र दुई बोरासम्म चामल जम्मा गर्ने विचार थियो तर यो के आपत आइलाग्यो ल डाउन भन्छन् झुप्रोको पिंढिमा बसेर छानातिर हेर्छ...यो पालाको बर्षा थाम्दैन होला ? चार बर्ष भयो नछाएको,चार बर्ष अघिको कुरो संझिन थाल्छ ऊ,...पकलीको दक्षिणी भागमा ऊ बस्थ्यो। त्यतिबेला उसले ठेलामा माल बोक्न सिकेकै थिएन। आहा ! कति मजा थियो त्यो जीवन...ऊ संझिन थाल्छ" आफू कोदालो बोकेर मस्तिले खेतका आली आली हिंडेको कामको खोजीमा, कहिले अधिकारीको खेत त कहिले बस्नेतको खेतमा पानी लाएको, बीउ काडेको अनि मज्जाले असारे गीत तरुनी बालाहरुसंग स्वरमा स्वर मिलाई गाएको ! कति रमाइला थिए ती दिनहरु...कुनै चिन्तै थिएन...तर के गर्नु इटहरी बढेर ठूलो भयो !
हाम्रो पकलीदेखि हांसपोसा,एकम्मा अनि खनारसम्मै इटहरी । जति इटहरी बढ्दै जान्थ्यो त्यति हामी खुम्चिदै जाँदै थियौं यो साला जग्गा दलाल के भन्नू ? मलाई त घिन लाग्छ छि:!पैसा पायो भने आमालाई नि टुक्रा टुक्रामा बेची दिन्छ" ऊ आफ्नै मनसँग कुरो एकहोरो गरिरहन्छ ! "हेर्दाहेर्दै मेरो आंखाको सामने मैले हलो जोतेको, कोदालो चलाएकोजम्मै जग्गा प्लटिङ गरेछन साहुसँग मिलेर, बिस्तारै बिस्तारै चार बर्षभित्रमा त जम्मै जग्गा दलालको कब्जामा...मलाई यहाँ इटहरी बजारमा ठेला चलाएर गुजारा चलाउन एकरत्ति मन थिएन । निराश भावमा फेरि भन्छ, "लकडाउन" यो शब्दसँग ऊ घृणा गर्छ ।
ऊ पकलीको दक्षिणी भागको मुसहर बस्तीमा पचिस बर्ष अघि जन्मिएको थियो, उसका बाबुले आंगनमा हेर्दा गुलाबको फूल देखेछन र उसको नाम गुलाब भएछ गुलाबभन्दा भन्दै साहु महाजनहरुले ए! गुलबिया, भन्न थालेको अरे।........उन्नाइस बर्षको उमेरमा गुलबियाको बिहे कोशी पारीको मुसहर बस्तीकि केटि फागोसंग भएको थियो,उसको बिहे भएको बर्ष दिनमा गुलबियाको बुवाको र छ महिना पछि उसकी आमाको मृत्यु भएकोले गुलबियालाई साह्रै पिर पर्यो...ऊ कुम्लो कुटुरो च्यापेर यो पापी ठाउँमा बस्तिन भन्दै, ईटहरीको दक्षिणी भागको मुसहर बस्तीमा शरण लिन आइपुग्छ, उसकै जातभाईको सहयोगमा सानो छाप्रो बनाउँछ । त्यहिं फागोले चार बर्षभित्र दुई सन्तान जन्माउँछे।
गुलबिया फेरि विगतमैं फर्किन्छ, कसरी ठूल्ठूला मुसालाई खनी खनी निकालेर, भाग्दै गरेको मुसालाई आगो झोसेर मारेको अनि चटनी बनाएर स्वादले खाएको" कहाँ पाउनु ती दिन?.....यहाँ त अलि कमाई भयो कि जिउ दुख्छ । अनि खायो छुवाको झोल । राम्रो रक्सी त हाम्रो पकली र लवीपुरमा मात्रै पाउँछ, यो इटहरी त खतम छ खतम भन्दै निकै जाने जसरी मुन्टो हल्लाउँछ। अबचाहिं गुलबियालाई साह्रो रिस उठिसकेको छ,"साला ! लकडाउन" भुत भुताउँछ । ऊ हिजो यसो ठेलाको हालचाल के भयो ? भनेर निस्केको त पुलिसले चोकमै दुई डण्ठा लगाई दियो र दुई घण्टा घाममा उभ्यायो"! के हाम्रो इज्जत छैन ? भाइ हुँदैन, जाउ घर भनेको भएत भइहाल्थ्यो, के म गाईगोरु हो र ? साला ! कुकुरहरु..थु..भनेर घृणा मिश्रित स्वरमा भन्दै थियो, यो लक्डाउन भएको पाँच दिनसम्म त हामी भोकै बस्नु पर्यो, काखको बच्चाले मान्दैन राहत राहत भनेर दुई दिन लाइनमा बसेर पाँच किलो चामल एक किलो दाल दियो बस बिना सब्जी नै...आमाको दूध आउंदैन रातभर बच्चा रोएको रोएइ "लकडाउन" ! खोइ सरकारले कता कता के के बाँड्दैछ भन्ने सुन्छु अरु केही थाहा छैन। हाय ! मेरो ठेला, साहुले यो लकडाउनपछी अर्कैलाई दियो भने म के गरौंला ?" फेरि चिन्तित भयो ऊ "श्रीमती र दुइवटा बच्चा कसरी हुर्किन्छ्न होला ? के बिमारी ? कसले ल्यायो ? यिनै सब कुराले गुलबिया पिरोलिन्छ।
लक्डाउन खुल्न अझै कति दिन लाग्छ होला...यस्तै अवस्था रह्यो भने त हामी मर्छौ। आफ्नै हिसाबले रोजगारी चलेको थियो सधैं पेटभरि त आनन्दले नुन खोर्सानी मोलेर भात खाइदै थियौं"...पांच किलो चामल!हैट्ट कति दिन चल्नु ? बच्चालाई के खान दिनु ? एकछिनमा लामो सास तानेर खु..ई..य गर्छ,छानामा सिउरेर राखेको दाउ(हतियार)झिकेर मज्जले हेर्छ र फेरि त्यहिं राखेर भुतभुताउंछ" लकडाउन"!