काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ। यस्तै शनिबार निर्वाचन हुने छ ।
१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।
काँग्रेसको प्रदेश कार्यसमितिको अधिवेशन प्रदेश १ को विराटनगरमा, २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।
अधिवेशनको आज दिउँसो २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।