हेटौंडा । नेपाली काँग्रेस प्रदेश अधिवेशनमा बागमती प्रदेश सभापतिमा पुनः मतदान हुने भएको छ । पहिलो चरणमा शनिबार भएको मतदानमा सभापतिको उम्मेदवारहरु तीनै जनाको ५१ प्रतिशत नआएपछि आज पुनः मतदान हुने भएको हो ।
शनिबार भएको मतदानमा ईन्द्रबहादुर बानियाँले सबै भन्दा धेरै मत ल्याएका थिए । सभापतिमा पहिलो हुने बानियाँले ९ सय ९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेन दास प्रधानले १ सय ९७ मत ल्याए । बढी मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए ।
काँग्रेसको विधानअनुसार कुल मतको बहुमत अर्थात ५१ प्रतिशत मत पाए मात्रै सभापतिमा विजयी हुने छ । तर, बागमती प्रदेशको सभापति बन्ने दौडमा रहेको तीनै जनाले बहुमत पाउन नसकेपछि आईतबार पुनः मतदान हुने जनाइएको छ । कुल २ हजार १ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो ।
दोस्रो चरणको निवार्चनमा सभापतिको लागि बानियाँ र केसीबीच प्रतिष्पर्धा हुने भएको छ । पहिलो चरणमा सबैभन्दा कम मत ल्याएका प्रधान निर्वाचन प्रक्रियाबाट नै बाहिरिसकेका छन् ।