भरतपुर (चितवन) । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन खेलमा कोशी प्रदेशले वर्चस्व जमाएको छ ।
भरतपुर कवर्डहलमा आज सम्पन्न फाइनल खेलमा सात इभेन्टस्मध्ये चार इभेन्टस्मा कोशीले स्वर्णपदक जितेको छ । महिला सिङ्गलतर्फ कोशीकी सीमा राजवंशीले स्वर्णपदक जित्नुभयो भने मिक्स डबलमा कोशीका विशाल तामाङ र सीमा राजवंशीको जोडीले स्वर्णपदक जिते ।
पुरुष र महिला टिम इभेन्टमा पनि कोसी प्रदेशले नै स्वर्णपदक जितेको छ । पुरुष डबलतर्फ गण्डकीलाई विशाल खड्का र सुजन थापाको जोडीले स्वर्णपदक दिलायो भने महिला डबलतर्फ दिलासा राना र तिलमाया रानाले गण्डकीलाई स्वर्णपदक दिलाए ।
बागमती प्रदेशका लागि एकमात्र स्वर्णपदक पुरुष सिङ्गलतर्फ राजु गरञ्जाले दिलाए । उनले फाइनल प्रतिस्पर्धामा गण्डकीका सुजन थापालाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् ।
विजेताहरुलाई आजै पुरस्कार प्रदान गरिएको छ । भलिबलतर्फ आज क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् ।
गेष्टहाउस चौरमा भएको क्वाटरफाइनलमा विजयी हुँदै पुरुषतर्फ कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
महिलातर्फ लुम्बिनी र गण्डकी, वाग्मती र कर्णाली सेमिफाइनलमा भिड्नेछन् । दुवैतर्फका सेमिफाइनल खेल भोलि बिहान हुनेछन् ।