लमजुङ, ८ साउनः नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई मस्र्याङ्दी गाउँपालिकाले विशेष सम्मान गरेको छ ।
आज लमजुङको मस्र्याङ्दी गाउँपालिका –८, भुलभुलेमा आयोजित सम्मान तथा अन्डर –१९ फुटबल खेलाडीसँगको अन्तरक्रियात्मक कार्यक्रममा गाउँपालिकाले उनलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उनलाई सम्मान प्रदान गर्दै साम्बा जस्तै प्रेरणादायी खेलाडी उत्पादन गर्न गाउँपालिका क्रियाशील रहेको बताएका छन ।
सम्मानित हुन पाउँदा आफू निकै खुसी भएको प्रतिक्रिया दिंदै भण्डारीले यस्ता सम्मानले अझै उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने बताइन् । साम्बाको सम्मानमा मस्र्याङ्दी गाउँपालिका –९, खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा चोक’ नामकरण समेत गरि सकिएको गाउँपालिकाले जनाएको छ ।
हाल सशस्त्र प्रहरी बल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट प्रतिनिधित्व गर्दै आएकी भण्डारी अग्रपङ्क्तिमा खेल्ने उत्कृष्ट फरवार्ड खेलाडीको रूपमा स्थापित छिन् । ‘साम्बा’ उपनामले चिनिने भण्डारीले आगामी दुई सिजनका लागि न्यूजील्याण्डको वेलिङटन फोनिक्स क्लबसँग सम्झौता गरिसकेकी छिन् र अस्ट्रेलियाको ए–लिगमा सहभागी हुँदैछिन् । यसअघि उनले फ्रान्सको एन अभेन्ट गुइनगाम्प क्लबबाट पनि खेलिसकेकी थिइन् ।