आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

त्रिवि मैदानमा एक महिनापछि फ्लडलाइटमा क्रिकेट, ८० प्रतिशत काम सकियो


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/9649
    साउन १२, २०८२ सोमबार
    त्रिवि मैदानमा एक महिनापछि फ्लडलाइटमा क्रिकेट, ८० प्रतिशत काम सकियो

    काठमाडौँ, १२ साउन । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति कार्यअन्तर्गत पहिलो चरणको काम अबको एक महिनाभित्र सम्पन्न हुने भएको छ । निर्माण व्यवसायीले प्यारापिट र फ्लडलाइट जडान सहितको स्तरोन्नतिको करिब ८० प्रतिशत काम सकिएको र बाँकी काम एक महिनामा पूरा हुने प्रतिबद्धता जनाएका छन् ।
    आइतबार सङ्घीय संसद्को ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति’ले मैदानको स्थलगत अनुगमन गरेको थियो । समितिका सभापति ठाकुर गैरे नेतृत्वको टोलीलाई सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण व्यवसायीले कार्यप्रगति बारे जानकारी गराएका हुन् ।
    १० हजार दर्शक क्षमता तयार हुँदै
    सचिव सिग्देलका अनुसार पहिलो चरणको निर्माण सकिएपछि मैदानको दर्शक क्षमता १० हजार पुग्नेछ । दोस्रो चरणमा यसलाई २५ हजार पुर्‍याउने लक्ष्य छ । पहिलो चरणमा ढलान गर्नुपर्ने १२ मध्ये १० वटा ब्लकको काम सकिइसकेको छ । ती स्थानमा सिट जडान गरिएको छ भने अन्तिम चरणका लागि आवश्यक १,७०० सिट भारतबाट ल्याउने प्रक्रियामा रहेको छ ।
    रात्रिकालीन खेलका लागि फ्लडलाइट
    मैदानमा रात्रिकालीन खेल सञ्चालन गर्ने उद्देश्यले ६ वटा फ्लडलाइट जडान गरिँदैछ । यसका लागि आवश्यक जमिनमुनिको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । भारतबाट तीनवटा स्ट्यान्ड मास्ट ल्याइसकिएको छ भने त्यसमा जडान हुने ४२० वटा बत्ती युरोपबाट ल्याइँदैछ । दुवै चरणको निर्माण सम्पन्न हुँदा कुल ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
    पहिलो चरणको काम सम्पन्न गरेर नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण यही मैदानमा खेलाउने लक्ष्य राखिएको छ ।
    जग्गाको स्वामित्व र सम्झौताको चासो ।
    अनुगमनका क्रममा मैदानको जग्गा स्वामित्व रहेको त्रिभुवन विश्वविद्यालयको चासोबारे पनि छलफल भएको थियो । क्रिकेट मैदान सञ्चालनका लागि नेपाल क्रिकेट सङ्घ क्यान र त्रिविबीच भएको लिज सम्झौता आगामी वैशाखमा सकिँदैछ । सचिव सिग्देलले त्रिविका चासोलाई सम्बोधन गर्दै सम्झौता नवीकरणका लागि छलफल अघि बढाउनुपर्ने कुरा बताएका छन् ।
    अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति गैरेले प्रधानमन्त्रीले पदबहालीकै दिन गरेको घोषणा अनुसार काम अघि बढेकोमा खुसी व्यक्त गरे । उनले प्रतिकूल मौसमका बाबजुद काम तीव्र गतिमा अघि बढेको र एक महिनाभित्र सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन् ।
    क्यानका सचिव पारस खड्काले त्रिवि मैदानले धेरै खेलप्रेमीको सपना बोकेको बताउँदै एनपीएल फ्लडलाइटमा खेल्ने लक्ष्य पूरा हुने दिशातर्फ काम भइरहेको जानकारी दिएका छन । उनले देशका अन्य स्थानमा पनि क्रिकेट मैदान निर्माणको काम सुरु भएको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij