इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले जारी सिजनमा दोस्रो जित निकालेको छ ।
बैंगलुरुको भने यो पाँचौँ पराजय हो । सुरुवाति ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बैंगलुरुका लागि फाफ डुप्लेसी, रजत पाटिदार र दिनेश कार्तिकले अर्धशतकीय पारी खेलेका थिए ।
डुप्लेसीले ६१, पाटिदारले ५० तथा कार्तिकले नटआउट ५३ रन बनाए । त्यस्तै विराट कोहली ३, विल ज्याक्स ८, सौरभ चक्रवर्ती ९ रनमा आउट हुँदा आकाश दीपले नटआउट २ रन जोडे । ग्लेन म्याक्सवेल, महिपाल लोमरोर र विजयकुमार विशाकले कुनै पनि रन जोड्न नसकी पेभेलियन फर्किए ।
मुम्बईका लागि जसप्रित बुमराहले ५ विकेट लिए । त्यस्तै गेराल्ड कोट्जी, आकाश मधुवाल र श्रेयस गोपालले १/१ विकेट लिए । १९७ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै १९९ रन बनाएपछि बैंगलुरुविरुद्ध ७ विकेटको जित निकालेको हो ।
मुम्बईका लागि इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेलेका थिए । किसनले ६९ तथा यादवले ५२ रन जोडे । त्यस्तै रोहित शर्मा ३८ रनमा आउट हुँदा हार्दिक पाण्ड्याले नटआउट २१ तथा तिलक बर्माले नटआउट १६ रन जोडे ।
बलिङतर्फ बैंगलुरुका आकाश दीप, विजयकुमार विशाक र विल ज्याक्सले १/१ विकेट लिए । जारी सिजनमा मुम्बईको यो दोस्रो जित हो । मुम्बईले पाँच खेल खेलेकामा यसअघि दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । त्यस्तै राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र गुजरात टाइटन्ससँग भने पराजित भएको थियो ।
त्यस्तै ६ खेल खेलेको बैंगलुरुको भने यो पाँचौँ पराजय हो । बैंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेको थियो । राजस्थान रोयल्स, लखनउ सुपर जायन्ट्स, कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ससँग भने पराजय व्यहोरेको थियो ।