भारत भ्रमण स्थगित गरेर विश्वप्रतिष्ठित उद्योगपति एलन मस्क चीन पुगेका छन् । टेस्ला कारको अटो ड्राइभिङ मोडलाई सक्षम पार्ने विषयमा छलफल गर्न उनी चीन गएको चर्चा छ ।
उनी चीनमा फुल सेल्फ ड्राइभिङ (एफएडी) लाई स्थापित गराउन चाहन्छन् । आफ्नो एल्गोरिदमलाई प्रशिक्षित गर्नका लागि देशमा जुटाइएका डेटालाई विदेशमा ट्रान्सफर गराउनु उनको अर्को लक्ष्य छ ।
फुल सेल्फ ड्राइभिङ मोड अमेरिकामा चलिरहेको छ तर यसलाई चीन पुर्याउन सकिएको छैन । टेस्लाको अटोनोमस ड्राइभिङ मोडबाट १३ दुर्घटना भएको रिपोर्ट अमेरिकामा बाहिरिएको केही दिनपछि उनी चीन पुगेका हुन् । दुर्घटनामा एक जनाको मृत्यु पनि भएको थियो ।
चिनियाँ मिडियाका अनुसार, त्यहाँका प्रधानमन्त्री ली कियाङसँगको एक बैठकमा मस्कले चीनसँग सहयोग आदनप्रदान बढाउन चाहेको बताएका छन् । देशका लागि उत्कृष्ट परिणाम ल्याउन सकिने खालको काम गर्न खोजिरहेको उनको भनाइ थियो ।
रिपोर्टअनुसार, लीले मस्कलाई चिनियाँ बजार विदेशी कम्पनीका लागि सधैं खुला रहेको बताएका थिए ।
चीन टेस्लाको दोस्रो ठूलो बजार हो । अर्को कार निर्माता एक्सपेङले आफ्नो कारमा टेस्लाजस्तै सेल्फ–ड्राइभिङ फंक्सन राखेर टेस्लालाई टक्कर दिइरहेको छ ।
आइतबार मस्कले चीनको कार कम्पनीलाई संसारको सबैभन्दा प्रतिस्पर्धी कम्पनी भने । टेस्लाले देशमा एफएसडीको रोलआउटको बारेमा चिनियाँ अधिकारीलाई आश्वस्त पार्नका लागि कदम चालेको छ, जसमा स्थानीय कानुनअनुसार चिनियाँ उपभोक्ताबारे डेटा प्रोसेस गर्नका लागि सांघाईमा एक डेटा सेन्टर स्थापित गर्नु पनि एक हो ।
मस्कको यो यात्रा अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए) ले टेस्लाको ड्राइभर असिस्टेन्ट सिस्टमको सुरक्षा चिन्तालाई ध्यानमा राखेर जाँच गरिरहेको बताएको केही दिनपछि भएको हो ।