काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको बागडोर सम्हालेको महिनौँ बितेको छ । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको ७२ दिन दुई महिना बढी भैसकेको छ । दिनहुँ उसरी समय घर्किदा पनि उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ ७ गते दोस्रो पटक संसद् विघटन गरे । विघटित संसद्को पुनःस्थापनाको माग गर्दै जेठ १० गते विपक्षी दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एमाले तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त विपक्षी गठबन्धन गरे ।
संसद् पुनःस्थापना र वर्तमान प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग राख्दै विपक्षी दलका १ सय ४६ सांसदले हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गराए । त्यसपछि असार २८ गते सर्वोच्चले दोस्रो पटक विघटित संसद् पुनःस्थापित गर्यो । र, बहुमत सांसदको समर्थन पाएका विपक्षी गठबन्धनका नेता तथा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न असार २९ गते सर्वोच्चले अदालतले परमादेश जारी गर्यो ।
जारी परमादेशअनुसार असार २९ गते नै देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री पदमा नियुक्त भए । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ७२ दिन पूरा हुँदा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएसँगै गठबन्धनका सांसदहरूले मुद्दा लडेर ल्याएको संसद् पंगु हुने त होइन भन्ने आशंका गरिरहेका छन् । एमालेले त परमादेशबाट ल्याएको सरकार दिनानुदिन पंगु बन्दै गएको भन्दै खिल्ली उडाइरहेको छ ।
मन्त्रिपरिषद् गठनमा ढिलाइ भएसँगै गठबन्धन भित्रैका सांसदहरूको संशयबीच प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता नभएकाे हाेइन । भेटका क्रममा चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा छलफल भएको प्रचण्ड पुत्री एवम् स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
सरकार बनेको ७२ दिन पूरा भए पनि प्रधानमन्त्री देउवाले १८ मन्त्रालय आफ्नै गोजीमा राखेका छन् । संविधानमा संघीय सरकारले २५ मन्त्रालय विस्तार गर्न पाउने व्यवस्था छ । देउवा नेतृत्वको सरकार गठन भएको महिना दिनयता ७ सदस्यीय मन्त्रिपरिषद्ले देश चलाइरहेको छ । अहिले ५ दलिय गठबन्धनको सरकार छ । यसअघि संसद् पुनःस्थापनाको माग गर्दै ६ दलले संयुक्त गठबन्धन गरेका थिए । यद्यपि राजमोले संसद्को पुनःस्थापनाका लागि गठबन्धन संलग्न भए पनि सरकारमा सहभागी नहुने बताइ सकेको छ ।
अहिले काँग्रेस र माओवादीका मात्रै मन्त्री बनेका छन् । देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रलाई मात्रै दुई मन्त्रालय दिएका छन् भने उनले चार मन्त्रालयको जिम्मा काँग्रेसकै नेतालाई दिएका छन् । काँग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरू मन्त्री पदमा नियुक्त भएको १२ दिनपछि प्रधानमन्त्री देउवाले साउन १० गते काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । त्यसयता ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ भने प्राधानमन्त्री देउवाले आज परराष्ट्रमन्त्रीमा नेपाली काँग्रेसका नेता डा.नारायण खड्कालाई नियुक्त गरेका छन् । योसँगै मन्त्रिपरिषद्मा अब ७ मन्त्री नियुक्त भएका छन् ।
रक्षा, शिक्षा विज्ञान तथा प्रविधि, कृषि तथा पशुपञ्छी विकास, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति पर्यटन तथा नागरिक अड्डयन, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लगायतका मन्त्रालय खाली छन् ।
यी खाली मन्त्रालयमा मन्त्रीहरूको पदपूर्ति गर्नुको साटो बाँकी १८ मन्त्रालयको सम्पूर्ण जिम्मेवारी तथा कार्यभार प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका छन् । तर, सरकार सञ्चालनका लागि काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलका एक सदस्यका अनुसार मन्त्रिपरिषद् विस्तारको टुंगो यहीँ हप्ताभित्रै लाग्ने बताएका छन् ।