काठमाडौं । सत्तारुढ गठबन्धनबीच प्रदेश १ र वागमती प्रदेशमा नयाँ सरकार गठन गरेर अघि बढ्ने सहमति भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको गठबन्धनको बैठकले दुई प्रदेशमा सरकार गठन गरेर अघि बढ्ने सहमति जुटाएको हो ।
गठबन्धनमा रहेका दलहरुबीच प्रदेश १ र वागमती प्रदेशमा सरकार गठन गरेर अघि बढ्ने सहमति जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । अहिले प्रदेश १ र वागमती प्रदेशमा नेकपा एमालेको सरकार छ । एमालेको सरकार रहेका दुवै प्रदेशमा गठबन्धनकै सरकार गठन गरेर अगाडि बढ्ने समझदारी भए पनि कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ ।
बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका बारेमा पनि छलफल भएको बताइएको छ । तर, बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा ठोस सहमति भने नजुटेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) नेता नारायणकाजी श्रेष्ठले बताए ।
नेता श्रेष्ठले संघीय सरकारको विषयमा बिहीबार फेरि छलफल गरिने जानकारी दिए । ‘बैठक बिहीबार बस्ने गरी सकियो,’ उनले भने । बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारलाई क्रमिक रुपमा पूर्णता दिने बारे छलफल भएको जानकारी दिए ।
‘सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो,’ उनले भने, ‘गठबन्धन बलियो बनाएर जाने भन्ने भयो । महामन्त्री खड्काले बिहीबार बस्ने बैठकमा बजेट पास र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमाथि ल्याउन लागिएको प्रतिस्थापन विधेयक सफल बनाउन लाग्ने समझदारी बनेको पनि जानकारी दिए । गठबन्धनका विषयमा बाहिर अनावश्यक हल्ला चलाइएको र गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले दाबी गरे ।