आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8376
    चैत ५, २०८१ मंगलबार
    कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

    कर्णाली । यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार ९११ परीक्षार्थी सहभागी हुने भएका छन् ।

    उक्त परीक्षामा साधारणतर्फ तीन हजार ३३८, प्राविधिकतर्फ १०६, नियमिततर्फ तीन हजार ४४४ र ग्रेड वृद्धितर्फ २२४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत लोकप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा नौ हजार ५१३ र सबैभन्दा कम परीक्षार्थी डोल्पामा ७७७ जनाले परीक्षा दिँदै छन् । 

    यस्तै, दैलेखबाट छ हजार १९६, जाजरकोटबाट चार हजार ६६८, सल्यानबाट चार हजार २६९, कालिकोटबाट चार हजार ८९, रुकुमपश्चिमबाट तीन हजार ६६८, जुम्लाबाट दुई हजार ६८१, हुम्लाबाट एक हजार १०४ र मुगुबाट ९४६ परीक्षार्थी परीक्षा दिने सूचना अधिकारी पौडेलले बताए । 

    यसैगरी, १० जिल्लामा १८० केन्द्र रहेकामा सुर्खेतमा सबैभन्दा धेरै ३३ र डोल्पामा सबैभन्दा कम चार वटा परीक्षा केन्द्र रहेका छन् । केन्द्राध्यक्ष १८०, सहायक केन्द्राध्यक्ष २५२, निरीक्षक एक हजार ८९५, परीक्षा सहायक ३८०, कार्यालय सहयोगी ७५८ र सुरक्षाकर्मी दुई हजार सात सय गरी जम्मा छ हजार १६५ जनशक्ति परिचालन हुने निर्देशनालयले जनाएको छ ।

    सूचना अधिकारी पौडेलले कर्णाली प्रदेशका १० वटै जिल्लामा आवश्यक उत्तरपुस्तिका पुगिसकेको र जिल्लाका इकाई प्रमुखहरूसँग परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धमा दुई दिने अभिमुखीकरण कार्यक्रम पनि गरिसकेको बताए । यस्तै, परीक्षा सञ्चालन र व्यवस्थापनतर्फको खर्च रकम पनि सबै जिल्लामा पठाइसकिएको उनको भनाइ छ । 

    शिक्षा विकास निर्देशनालय सुर्खेतले परीक्षा व्यवस्थापन गर्न परीक्षा केन्द्रका लागि एक करोड २४ लाख ९५ हजार ७५०, इकाईका लागि १४ लाख ३४ हजार ७५० गरी जिल्लामा जाने कुल बजेट एक करोड ३९ लाख ३० हजार पाँच सय छुट्याएको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij