काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नौ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा नौ सय ५३ जनामा संक्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १९ हजार ७०० जना रहेका छन् ।
५०० भन्दा बढी संक्रमित भएका जिल्ला ९ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३७१ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुने कुल संख्या सात लाख ५९ हजार ८७५ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.१ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ८७ जनाको निधन भइसकेको छ । हाल देशभर ३६३ जना सघन उपचार कक्ष (आइसीयू), १०९ जना भेन्टिलेटर, १८ हजार ३४० जना होम आइसोलेसन, एक हजार ३६० जना संस्थागत आइसोलेसन र २३७ जना क्वारेन्टिनमा रहेका छन् ।