काठमाडौँ, १३ साउनः हिन्दू धर्मावलम्बीहरूले आज देशभर श्रद्धा र भक्तिपूर्वक नागको पूजाआराधना गरी नागपञ्चमी पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा घरको मूलढोकामा नागको चित्र टाँसी, दुबो, अक्षता, गाईको दूध, खीर, रोटीलगायत प्रसाद चढाएर नागदेवतालाई पूजिन्छ ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा। डा। देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि चलिआएको हो । ूनागलाई सर्पको राजा मानिन्छ । उनीहरूलाई खुसी पार्दा वर्षा, अग्नि र चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ, डा. भट्टराईले बताए ।
पौराणिक मान्यता अनुसार भगवान् शिवले नागको माला लगाउनुहुन्छ भने भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्छन । श्रीकृष्णको बाल्यकालमा कालीनागको दमन तथा बुद्धको मूर्तिमा सर्प मुकुट देखिनुले नागको धार्मिक महत्त्व झल्काउँछ ।
नागपञ्चमीसँग सम्बन्धित प्रसिद्ध किंवदन्तीमा एक किसानद्वारा नागका बच्चा मारेपछि नागिनीको बदला, छोरीको भक्तिपूर्वक नागपूजा र वरदान स्वरूप मरेका परिवारजनको पुनर्जीवनको कथा जनविश्वासका रूपमा प्रचलित छ । यही प्रसङ्गलाई आधार मान्दै आजको दिनदेखि नागपूजा गरिँदै आएको मानिन्छ ।
नागका आठ प्रमुख कूल अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख लाई ब्राह्मण पुरोहितबाट पूजा गरिन्छ। आजको दिन खनजोत नगर्ने, सर्प मार्न नहुने, र नाग टाँसेपछि त्यसबाट सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास रहेको छ ।
आज काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीसहित देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष पूजाआजा र मेला आयोजना गरिएको छ । वैज्ञानिक दृष्टिले पनि नागजाती विषालु तत्वको नियन्त्रणमा सहायक हुने भएकाले पूजाको धार्मिक मात्र नभई पर्यावरणीय सन्देश पनि रहन्छ ।
यसरी नागपञ्चमीबाट वैदिक सनातनी धर्मावलम्बीका चाडपर्वको औपचारिक सुरुवात हुने मान्यता रहेको छ ।