आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल सम्पन्न, दुई निर्माणाधीन


  • 829
    SHARES
  • https://indrenipost.com/posts/9558
    साउन ३, २०८२ शनिबार
    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल सम्पन्न, दुई निर्माणाधीन

    गण्डकी, ३ साउन । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड पोखरा–जामुने अन्तर्गत ११ वटा पुल निर्माण सम्पन्न भएका छन् भने दुई वटा पुल निर्माणको क्रममा रहेका छन्। तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला – १, फेदीखोला – २, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण कार्य सम्पन्न भइसकेको छ।
    आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार विजयपुर र सेती खोलामा दुई वटा पुल निर्माणाधीन छन्। विजयपुर खोलाको पुल निर्माण ६० प्रतिशत सम्पन्न भएको छ भने सेती खोलाको पुलको प्रगति ४८ प्रतिशत मात्र रहेको छ। विजयपुर पुल निर्माण सकिन अझै पाँचदेखि छ महिना लाग्ने अनुमान गरिएको छ।
    सेती खोलाको सिग्नेचर पुलमा सब–स्ट्रक्चरको काम सम्पन्न भइसकेको र अहिले डाउनस्ट्रिमतर्फ सुपर–स्ट्रक्चरको काम भइरहेको प्रमुख कुँवरले जानकारी दिएका छन । रसुवा कन्स्ट्रक्सनले २०७९ साउनमा निर्माण जिम्मा लिएको सो पुलको डिजाइन अनुमोदनदेखि आवश्यक संरचना हटाउने काममा ढिलाइ हुँदा निर्माणमा ढिलो भएको हो। ६ लेनको सडकमा आकर्षक बनावटका दुई वटा सिग्नेचर पुल बन्नेछन्, जुन हालको चाइना पुलको माथि र तल रहने छन्। केबल–स्टेड प्रविधिमा निर्माण भइरहेका ती पुल आकर्षक डिजाइमा तयार हुँदैछन्। एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत करिब ९४ करोड रुपैयाँको लागतमा पुल निर्माण भइरहेको हो।
    ५ दशक पुरानो पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकको स्तरोन्नति कार्य २०७८ साल वैशाखदेखि सुरु भएको हो। आयोजनाका अनुसार आगामी हिउँद सम्ममा स्तरोन्नतिको कार्य सकिने लक्ष्य रहेको छ।
    हालसम्म पूर्वी खण्ड जामुने–मुग्लिनमा ८६ प्रतिशत र पश्चिम खण्ड पोखरा–जामुनेमा ५५.१० प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वी खण्डमा कालोपत्र सकिए पनि सडक मार्किङ र सौन्दर्यीकरण बाँकी छ। पश्चिम खण्डको ३८.८८ किलोमिटर दूरीमध्ये ३६.५ किमी एकतर्फी सडकमा कालोपत्र भइसकेको छ। यसमध्ये २६.३८ किमीमा चार लेनको कालोपत्र सकिएको हो।
    त्यस्तै, पश्चिम खण्डमा निर्माणाधीन १०५ मध्ये १०३ वटा कल्भर्ट पूरा भइसकेका छन्। पश्चिम खण्डको ठेक्का म्याद आगामी पुस १६ गते सकिने बताइएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij