मध्यविन्दु नवलपरासी, ४ साउन । बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्डमा एक वर्षको अवधिमा ६३ पटक आवागमन अवरुद्ध भएको छ। लगातारको वर्षा, पहिरो, सडक विस्तारको काम र सवारी साधन बिग्रिने समस्याका कारण यो खण्ड सवारीका लागि अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ।
नवलपरासी बर्दघाट सुस्तापूर्व अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका – २ स्थित दाउन्ने क्षेत्रमा २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले जानकारी दिएका छन।
उनका अनुसार अधिकांश अवरोध पहिरो र खसेको माटोका कारण भएका हुन्। साथै सडक विस्तारको क्रममा प्रयोग गरिएका ठूला उपकरण र बिग्रिएका ट्रकहरूका कारण पनि घण्टौँसम्म सवारी अवरुद्ध हुने गरेको छ। दाउन्नेको विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोड लगायतका क्षेत्र अवरोधको प्रमुख बिन्दुका रूपमा चिनिएका छन्।
सडक विस्तारसँगै समस्या बढ्दो
दाउन्ने पहाडमा सडक विस्तारका लागि गरिएको भित्तो कटानपछि सडक अवरुद्ध हुने घटनामा उल्लेख्य वृद्धि भएको हो। १४ किलोमिटर लामो यो खण्डमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी अवरोध भएको प्रमुख बन्जाराले बताए।
ूवर्षामा पहिरो र हिलोले, घाम लाग्दा धुलो र खाल्डाखुल्डीले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बन्छ, उनले भने।
विनयी खोला पुल भत्किँदा यातायात थप अस्तव्यस्त
गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ मा विनयी खोला पुल भाँचिएपछि अस्थायी डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गरिएको थियो। तर डाइभर्सन बारम्बार खोलाले बगाउँदा थप समस्या भएको थियो । असार १९ देखि नयाँ पुल सञ्चालनमा आएपछि सो समस्या भने टरेको छ।
सडक विस्तारको गति सुस्त
सडक विस्तारका क्रममा गत चैत र वैशाख महिनामा सवारी सञ्चालनमा समयसमयमा रोक लगाइएको थियो। हाल दाउन्ने क्षेत्रमा पर्खाल, कल्भर्ट र सडक ढलानको काम भइरहेको छ । पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार निर्माण कार्य तीव्र पारिएको छ।
नारायणगढ–बुटवल ११४ किलोमिटर सडकमध्ये गैँडाकोट देखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्ने क्षेत्रको १४ किलोमिटर तीन लेनको बनाउने कार्य चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। करिब रु १७ अर्ब लागतको यो आयोजना तीनपटक म्याद थप गरिएपछि हाल साउन मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
निष्कर्ष
दाउन्ने सडकखण्डको बारम्बारको बन्दले यात्रु र स्थानीयवासी हैरान छन्। अबको प्राथमिकता सडक सुरक्षालाई दीगो बनाउने, निर्माण कार्यलाई तीव्रता दिने र नियमित अनुगमन गर्ने हुनुपर्ने देखिन्छ । टकको बाधा अब पाठ बनेर, सुधारको ढोका खोलोस् भन्ने अपेक्षा स्थानीयको छ।