सिरहा, २३ साउन – मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–२१ का ६४ जना सुत्केरी र गर्भवती महिलालाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार आयोजित कार्यक्रममा पोषण सामग्री हस्तान्तरण गर्नुभयो ।
नगरपालिकाले प्रत्येक महिनामा फरक–फरक वडामा पुगेर यस्ता सामग्री वितरण गर्दै आएको छ । प्याकेजमा चामल, दाल, नुन, तेल, चना लगायत खाद्यान्नका सामग्रीसहित गर्मी र वर्षात्को मौसममा लामखुट्टेको प्रकोपबाट जोगिन झुल पनि समावेश गरिएको छ ।
कार्यक्रमका अवसरमा नगरप्रमुख चौधरीले भने, “गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य सुनिश्चित गर्नु हाम्रो प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत पोषण अवस्था सुधार र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने उद्देश्य रहेको छ । आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यक्रम विस्तार गरिनेछ ।”
स्वास्थ्य संस्थामा नियमित जाँच गराउने गर्भवती महिलालाई लक्षित गरेर पोषण प्याकेज वितरण गरिएको स्वास्थ्यकर्मी अमृताकुमारी महतोले जानकारी दिए । उनका अनुसार, “नियमित जाँचमा सहभागी हुने महिलाहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।”
महिला स्वास्थ्य स्वयंसेविका सुजितादेवी सिंहले अभियानले गर्भवती महिलाको तथ्याङ्क व्यवस्थापन तथा सेवाको सहजीकरणमा प्रभावकारी योगदान पुर्याएको बताए ।