बाजुरा, २३ साउन – बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ निवासी ५२ वर्षीय विप्लव ओझाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक डीएसपी इकवाल हवारीका अनुसार तीर्थयात्री ओझा बिहीबार साँझ ७ बजे विस्नेपानी नजिक भीरबाट लडेर खोल्सामा खसेका थिए । रातिको समय र लगातारको वर्षाका कारण तत्काल उद्धार सम्भव नभएको जनाइएको छ ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेपनि खोल्सामा अड्किएको शव निकाल्न कठिन भएको छ । शव झिक्न नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको प्रयास गरिए पनि मौसम प्रतिकूल भएकाले सफल हुन सकेको छैन ।
बडीमालिका मन्दिर दर्शनका लागि हजारौं तीर्थयात्रीहरू हरेक वर्ष पदयात्रामा जाने गरेका छन् । मुसलधारे वर्षा, फिसलिलो बाटो र कठिन भौगोलिक अवस्था तीर्थयात्रीका लागि जोखिमपूर्ण बन्ने गरेको छ ।