काठमाडौँ, २३ साउन हाल मनसुनको न्यून चापीय रेखा नेपालका तराई भू–भाग नजिकको सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले देशभर मनसुनको प्रभाव देखिएको छ। यद्यपि, जलवाष्पयुक्त हावाको प्रभाव भने केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदलीको अवस्था रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागमा धेरै स्थानमा, अन्य पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेश तथा अन्य तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ । विशेषगरी लुम्बिनी प्रदेशको तराई तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ । साथै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।
मौसम विभागले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी तथा डुबानजस्ता प्राकृतिक जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।