बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली


  • 667
    SHARES
  • https://indrenipost.com/index.php/posts/10047
    भदौ १५, २०८२ आइतबार
    सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

    बैतडी, १५ भदौः सुदूरपश्चिम प्रदेशभर आज गौरापर्वको मुख्य दिन अठ्यावाली धुमधामका साथ मनाइँदैछ । विशेषगरी बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, कैलालीलगायत जिल्लामा महिलाले बिहानै गौराघरमा पूजाआजा गरी गौरालाई गौराखलामा आँगन लैजाने परम्परा कायम छ ।
    हिजो गौराघरमा भित्र्याइएको गौरालाई आज बर्तालु महिलाले बिरुडा चढाएर पूजा गर्ने चलन छ । पाँच थरी अन्न मिसाएर बनाइने बिरुडाले गौरादेवीको आराधना गरिन्छ भने अघिल्लो दिन चढाइएको दुबधागो ९अभिमन्त्रित धागो० महिलाले धारण गर्ने परम्परा छ । संस्कृतिविद्हरूका अनुसार यो दुबधागोलाई पुरुषको जनै सरह मानिन्छ ।
    महिलाले गौराखलामा सामूहिक रूपमा अठ्यावाली गाउँदै गौराको उत्पत्ति र महेश्वरसँगको विवाहको प्रसङ्ग स्मरण गर्छन् । पूजन सम्पन्न भएपछि बिरुडालाई मुख्य प्रसाद मानिन्छ र सोही प्रसाद श्रीमान्, सन्तान र आफन्तको चिरायुको कामनासहित टाउको पुज्ने प्रथा रहिआएको छ । यस दिन पुरुषहरूले ढुस्को धमारी, ठाडोखेलजस्ता परम्परागत खेलहरू खेल्दै गौराको उल्लासमा सहभागी हुन्छन् ।
    आचार्य विष्णुदत्त भट्टका अनुसार गौरापर्व महिलाले अटल सौभाग्य, पारिवारिक समृद्धि र सन्तान सुखका लागि बस्ने व्रत हो । यस पर्वलाई सुदूरपश्चिमेलीहरूले दशैँभन्दा बढी महत्वका साथ मनाउने भएकाले परदेशिएका परिवारजन समेत घर फर्कने गर्छन् । विवाहित चेलीहरू समेत यस अवसरमा माइत आउने परम्परा छ ।
    यसैबीच गौरापर्वको अवसरमा आइतबार र सोमबार प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । संघीय सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते बिदा घोषणा गरेपछि सुदूरपश्चिममा दुई दिन औपचारिक छुट मिलेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij