दशरथचन्द बैतडी, ११ भदौ । बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जिप आज दिउँसो करिब २ बजे दशरथचन्द नगरपालिका–४ शाहिलेक नपुग्दै दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार जिप इश्वरीगङ्गा जाने बाटोमा सडकबाट करिब ७० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा दशरथचन्द नगरपालिका–४ का ३४ वर्षीय धीरेन्द्र खत्री, २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द–६ का २१ वर्षीय अर्जुन महर, २२ वर्षीय भूपेश जोशी, दशरथचन्द–११ ग्वालेककी ५० वर्षीया हरिना जोशी घाइते भएका छन् ।
त्यसैगरी पुर्चौडी नगरपालिका–४ की ३८ वर्षीया हीरा भट्ट, २३ वर्षीय जनक भट्ट, पुर्चौडी–५ का १७ वर्षीय रिकेश पार्की, २८ वर्षीय दिनेश पार्की, पाटन नगरपालिका–९ का १८ वर्षीय कविराज भट्ट, २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका–३ का ४२ वर्षीय डम्मरदत्त भट्ट घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये अर्जुन महर, दिनेश पार्की र कविराज भट्टको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको छ । सबै घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिपमा चालकसहित १३ जना सवार थिए । चालक रोशन भट्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले जानकारी दिएका छन ।