काठमाडौँ, ३ भदौः यस वर्ष हालसम्म जापानिज इन्सेफलाइटिस्बाट ११ जनाको ज्यान गएको छ भने ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार मृत्यु हुनेहरू मध्ये आठ वर्ष र १७ वर्षका एक–एक जना तथा ४० वर्षमाथिका नौ जना रहेका छन् ।
उनका अनुसार मृत्यु हुनेमा तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक–एक जना तथा चितवनका तीन जना रहेका छन् । घरमै रहेका ३० प्रतिशत र अस्पताल पुर्याउँदै गर्दा २७ प्रतिशतको ज्यान गएको छ। सन् २०२४ मा यो रोगबाट २५ जनाको मृत्यु भएको थियो भने ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
डा.गौतमका अनुसार खोप नलगाएकामा सङ्क्रमण बढी देखिएको छ । हालसम्म २४ जिल्लाका ५० स्थानीय तहमा रोग देखिएको र २४ स्थानीय तह उच्च जोखिममा रहेको जनाइएको छ। नेपालमा करिब ८२ प्रतिशत बालबालिकाले जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइसकेका छन् ।
यो कसरी सर्छ ?
विशेषगरी साउनदेखि कात्तिक महिनासम्म बढी देखिने यो रोग लामखुट्टेको टोकाइबाट सर्छ । मस्तिष्कमा सङ्क्रमण गराउने क्युलेक्स प्रजातिको लामखुट्टे साँझपख र बिहानीमा सक्रिय हुने भएकाले जोखिम बढ्ने गर्छ । धानबाली, दलदल र पानी जम्ने ठाउँ यसका लागि उपयुक्त प्रजननस्थल मानिन्छ ।
यो रोग गम्भीर अवस्थामा पुग्दा मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने वा कोमामा जाने मात्र नभई करिब ३० प्रतिशतसम्मको मृत्यु दर देखिने डा. गौतमले बताए । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि प्रायः १५ वर्षमुनिका बालबालिकामा बढी देखिने गर्छ ।
यो रोग संक्रमित हाँस, कुखुरा, सुँगुर वा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि सर्ने हो । तर मानिसबाट मानिसमा भने सर्दैन ।