काठमाडौं – नेकपा माओवादी केन्द्रले जनताका माग सम्बोधनमा सरकार पूर्णरूपमा असफल भएको ठहर गरेको छ । पार्टी पदाधिकारी बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार जनताका समस्या समाधान गर्न असमर्थ भएको र सुशासन कायम गर्न नसकेको निष्कर्ष निकालेको जानकारी दिए ।
सापकोटाका अनुसार, “सरकार जनताका माग सम्बोधनमा असफल भएको छ । सुशासन कमजोर छ, भ्रष्टाचार बढ्दो छ । अब संघर्षको तयारी आवश्यक देखिन्छ।” उनले सरकारको गतिविधि जनतामुखी नभएको र समस्या समाधानभन्दा टार्ने प्रवृत्तिमा केन्द्रित भएको आरोप लगाए ।
अभिव्यक्ति स्वतन्त्रतामाथि आघातः सामाजिक सञ्जाल नियमनको नाममा सरकारले चालेका कदमप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ । प्रवक्ता सापकोटाले भने, “नियमन आवश्यक छ, तर सरकारले गर्ने निर्णयको सार अध्ययन गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने नियत देखिन्छ । गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि अभिव्यक्ति स्वतन्त्रता हो, त्यसलाई कुण्ठित गर्न पाइँदैन।”
चीन भ्रमणमा प्रश्नः प्रधानमन्त्रीको हालैको चीन भ्रमणबारे पनि माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ । सापकोटाले नेपाल र चीनबीचका दाबीहरू फरक–फरक देखिएको भन्दै वास्तविकता पत्ता लगाउन गहिरो अध्ययन आवश्यक रहेको बताए । उनले भने, “हामी हाम्रो जमिनका विषयमा कुनै पनि प्रकारको विरोधाभास कुरा चाहँदैनौँ।”
सरकारलाई ध्यानाकर्षणः बैठकले चाडबाडको समयमा सुरक्षित र नियमित गाडी सञ्चालन गर्न, ऊखु किसान र दुग्ध किसानका माग सम्बोधन गर्न तथा शिक्षक महासंघसँग भएको सहमतिलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।
माओवादी केन्द्रले सरकारका नीतिगत असफलताले जनतामा असन्तुष्टि बढाएको भन्दै सडकदेखि संसदसम्म संघर्ष गर्न तयार रहेको चेतावनी दिएको छ ।