काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग चाँडै एकता हुने जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा दुवै दलसँग एकता प्रक्रिया अघि बढाइएको प्रष्ट पारिएको छ ।
पार्टी अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, “नेकपासँग एकता गर्ने निर्णय हामीले गरिसकेका छौँ । त्यही अनुसार छलफल चलिरहेको छ, र नेकपासँग लगत्तै माधव नेपाल नेतृत्वको पार्टीसँग पनि एकता गरिनेछ।”
माओवादीले हालै बसेको स्थायी कमिटी बैठकबाट नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । प्रचण्डले उक्त निर्णय विप्लव निवासमै पुगेर जानकारी गराइसकेका छन् । नेकपामा जारी बैठकले माओवादीको निर्णयलाई स्वागत गर्दै केन्द्रीय समिति बैठकबाट एकताबारे निर्णय लिने तयारी गरेको छ ।
त्यस्तै, नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि प्रचण्ड निरन्तर संवादमा छन् । माधव नेपाल माओवादीसँग एकता गर्न तयार भए पनि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सहितका निकट नेताहरू एकताको विपक्षमा रहेका छन् ।