शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

कम्युनिष्ट एकताको खाँचो ‘सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ’ — अध्यक्ष दाहाल


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9602
    साउन ७, २०८२ बुधबार
    कम्युनिष्ट एकताको खाँचो ‘सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ’ — अध्यक्ष दाहाल

    काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धि, स्थायित्व र समाज रूपान्तरणका लागि सबै कम्युनिष्ट शक्तिहरू एकीकृत हुनुपर्नेमा जोड दिएका छन ।
    नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले पुष्पलालको दूरदृष्टिपूर्ण विचार र स्पष्ट कार्यनीतिले नेपालमा लोकतन्त्रको जग बसालिएको स्मरण गराए । उनले भने, “पुष्पलालले देखाएको बाटो र संयुक्त जनआन्दोलनको रणनीतिक मार्गचित्रकै आधारमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव बनाएका हौं ।”

    अध्यक्ष दाहालले पुष्पलाललाई ‘साझा वैचारिक आधार’का रूपमा प्रस्तुत गर्दै सबै देशभक्त कम्युनिष्ट शक्तिहरू एउटै मोर्चामा आउनुपर्ने आवश्यकता औँल्याए । “कम्युनिष्ट विचारधारामा आस्था राख्ने सबैले पुष्पलाललाई साझा नेतृत्वको रूपमा स्वीकार गर्नु पर्छ,” उनले भने, “पृथक धार र मत प्रति आदर गर्दै पनि व्यापक एकता आवश्यक छ ।”

    पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले आफू ३६ वर्षदेखि नेतृत्वमा रहेर भिन्न मतको सम्मान गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाएको अनुभव सुनाए ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि देशमा छरिएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न सकेमा मात्र पुष्पलालको योगदानप्रति सच्चा सम्मान हुने धारणा राखे । “पुष्पलाल निरङ्कुश शासनविरुद्ध आवाज उठाउने पहिलो व्यक्ति मात्र होइन, जनअधिकार स्थापनाको आधारशिला पनि हुन्,” उनले भने ।
    नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि पुष्पलालको वर्गीय दृष्टिकोण, राजनीतिक विश्लेषण र संघर्षशैलीलाई आजको सन्दर्भमा पुनः आत्मसात् गर्नुपर्ने बताए । “पुष्पलाल कुशल सङ्गठक मात्र नभई वर्ग(संघर्षका तीक्ष्ण विश्लेषक पनि हुनुहुन्थ्यो,” चन्दले भने ।

    त्यस्तै, जनता समाजवादी पार्टी जसपा सङ्घीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठले सामाजिक विभेद, असमानता र शोषण अन्त्य गर्न आजको दिनमा कम्युनिष्ट एकता अपरिहार्य रहेको धारणा राखेका थिए। जसपाका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकामी शक्तिहरूलाई एकजुट भएर अघि बढ्न आह्वान गर्दै पुष्पलालको वैचारिक दृष्टिकोणको उच्च मूल्याङ्कन गरेका छन ।
    उनले भने, “आजको कम्युनिष्ट आन्दोलन षड्यन्त्र र आन्तरिक जालझेलमा फसेको छ, यसबाट मुक्त भइ पुनः जनताको पक्षमा उभिनु नै साँचो कम्युनिष्ट जिम्मेवारी हो ।”
    गोष्ठीमा सहभागी वक्ताहरूले पुष्पलालको विचारलाई आजको सन्दर्भमा पुनः परिमार्जन सहित व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका थिए । उनीहरूले कम्युनिष्ट आन्दोलनलाई सशक्त, सुदृढ र एकीकृत बनाउँदै देशमा दीर्घकालीन स्थायित्व कायम गर्न राजनीतिक एकताको आग्रह गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij