शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

अन्तर्वार्ता

डोल्पालाई नेपालको ‘स्वीजरल्याण्ड’ बनाउने वास्तविक सपना बुनेको छु : प्रदेश सभा सदस्य शाही


  • 7.7K
    SHARES
  • https://indrenipost.com/posts/1082
    असोज २२, २०७८ शुक्रबार
    डोल्पालाई नेपालको ‘स्वीजरल्याण्ड’ बनाउने वास्तविक सपना बुनेको छु : प्रदेश सभा सदस्य शाही

    डोल्पा (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य बीरबहादु शाहीसँग इन्द्रेणीपोष्ट डटकमले लिएको अन्तर्वार्ता । 

    १. भौगोलिक दृष्टिकोणले एकदमै विकट र नेपालकै सबैभन्दा ठूलो जिल्लाबाट निर्वाचित जनप्रतिनिधि भएर के–के काम गर्नुभयो ?

    गणतन्त्र प्राप्तिपछि नेपालमा संघीयताको पहिलो अभ्यास थियो यो । डोल्पा भौगोलीक हिसाबले नेपालकै ठूलो सामरिक दृष्टीले ऐतिहासिक जिल्ला हो । यहाँका अक्करे भीर र पातला बस्ती चुनौतीका पहिलो खुड्कीला थिए । मेरा लागि यहाँको भुगोल र संघीय ब्यवस्था दुवै चुनौती र अवसर थिए । जनताले बिजय गरिसकेपछि जनताका सपना पूरा गर्नु मेरो पहिलो कर्तव्य थियो । 

    म निर्वाचित भैसकेपछि मैले डोल्पालाई सडक सञ्जालसँग जोड्नु थियो । नुनको खोजीमा महिनौ हिड्नुपर्ने बाध्यता बोकेका जनताको भाग्यको फैसला गर्नु थियो । मैले सडक विस्तारको कामलाई पहिलो प्राथमिकतामा लिएँ । सडकसँगै जनताको रोजीरोटीको कुरालाई मध्यनजर गर्दै स्वरोजगार मुलक काममा पनि जोड दिएको छु । सडकको सन्दर्भमा त्रिवेणी हुँदै भालु सडक, त्रिवेणी काइगाउँ, मुस्ताङ, डोल्पा मुस्ताङ हुँदै रारा जोड्ने सडक जो देशकै गौरवका आयोजनाहरू हुन । अर्को तिब्बतको क्याटू साल्दाङ, धो सडक हुँदै नेपालकै महत्वपूर्ण जगदुल्ला हाड्रोपावरको कामलाई अगाडी बढाएको छु । यी मेरा प्रत्यक्ष पहलमा बनेका हुन् । 

    त्यस्तै कर्णाली प्रदेशकै नमुना चौँरी पालन व्यवसाय जहाँका जनता समाजबादी व्यवस्थाको अभ्यासमा छन् । जगदुल्ला गाउँपालिका–४ र त्रिपुरासुन्दरी नगरपालिका–११ बरंग्लाचौंरी फार्मको काम अगाडी बढेको छ । त्यस्तै जनतालाई सञ्चारसँग जोड्न हरथोक प्रयत्न गरेको छु । ८ वटा स्थानीय तहमा टेलिकमको टावरको पहल गरेको छु । केही ठाउँमा टावरको काम भैसकेको छ भने केही ठाउँमा काम हुँदैछ । त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, कृषिसँग सम्बन्धित यस्ता तमाम काम छन् । यिनै कामहरू गर्दै निरन्तर अगाडी बढेको छु ।

    २. संघीय गणतन्त्र नेपालको स्थापना पछिको पहिलो जनप्रतिनिधि भएर काम गर्दा प्रदेश सभामा के–कस्ता समस्याहरू रहे ?

    संघीयता नेपालको पहिलो जनताको ब्यवस्था थियो । संघीयता प्रतिको बुझाइ पनि फरक–फरक भएकोले यसलाई पुष्टि गर्न केही चाुनौतीहरू पक्कै पनि रहे भने संघीयता ल्याउने माउ पार्टीको नेतृत्व र जनप्रतिनिधिको हैसियतले हामीलाई थप जिम्मेबारी हुने कुरा स्वभाविक थियो । मुख्यतया जनताको व्यवस्थालाई सिंहदरबारबाट गाउँगाउँमा पुर्याउँदा अप्ठयारोभन्दा अवसरका रूपमा मैले बुझेको छु । र, त्यो इतिहासले दर्ज गरिसकेको छ । 

    ३. डोल्पामा तपाईंलाई असीम सम्भावना बोकेको नेता मानिन्छ ? तपाईंसँग के छ त्यस्तो योजना, जसले डोल्पालाई समृद्ध बनाउँछ ? 

    म जनताप्रति पुर्ण बफादार छु । जनताको जनजीविकाको सवाललाई नजिकबाट अध्ययन गरेको छुसपना । सुनलाई सिरानी हालेर नुनको खोजीमा भौतारीनुको पीडा म आफैले भोगेको छु । यसकारण पनि म डोल्पाली जनताप्रति बफादार छु । मैले डोल्पालाई नेपालको स्वीजरल्याण्ड बनाउने वास्तविक सपना बुनेको छु, यो कुनै गफ हैन । डोल्पा प्रकृतिको भर्जिनालिटी बोकेको सुन्दर जिल्ला हो । यहाँको भुगोल बलिउडको फिल्म सुटिङ गर्नेभन्दा कम छैन । यसलाई डोल्पाली जनताको भविष्यसँग जोडेको छु । बलिउड जत्तिकै डोल्पाली जनताको भविष्य रमाइलो, सुखद् र समृद्ध बनाउने सपना छ, र म त्यो सपनाप्रति प्रतिबद्ध छु । 

    ४. के नेकपा (माओवादी केन्द्र) डोल्पाको पहिलो दल बन्छ ? 

    मैले देखेको सपना हो, र म बनाउँछु पनि नेपालको आमूल परिर्वतनको प्रमुख हिस्सा माओबादी केन्द्र हो । गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक माओवादी केन्द्रको एजेण्डा हो । यो कुरा डोल्पाली जनताले नजिकबाट बुझेका छन । म त्यसको पुल हो । नेतृत्व जहिले पनि पुल हुने गर्छ । दस वर्षे महान जनयुद्धमा डोल्पाली जनताको बलिदान र त्याग निक्कै महत्वपुर्ण रह्यो यो त्यसैको प्रतिफल हो । यो कुरा डोल्पाली जनताले राम्रोसँग बुझेका छन् । डोल्पाली जनताको भाग्यको फैसला गर्ने बेला पनि हो । त्यो हामीमा छ, र हामी त्यो अभियानमा छौँ । हिजो केहि राजनीतिक बिचौलियाहरूले भ्रममा पारेर डोल्पाली जनताको रगत पसिना चुसे । अब डोल्पाली जनता सचेत भैसकेका छन् । जनताको सन्तान जनताको नेता बनाउन तम्तयार छन् । त्यसको एकमात्र विकल्प मात्रै माओवादी पार्टी हो । त्यसकारण पनि हामी माओबादी केन्द्र एक नम्बर पार्टी हो र एक नम्बर पार्टी बनाएर देखाउँछौँ । 

    ५. व्यवसाय र राजनीतिको सन्तुलन कसरी मिलाउनु हुन्छ ? तपाईंको व्यवसायमा राजनीतिक शक्तिको दुरुपयोग हुँदैन ? 

    हो म राजनीतिमा होमीनु अगाडी एक व्यवसायीक पनि हुँ । राजनीति र ब्यवसाय परिूुरक हुन् । मैले राजनीतिलाई व्यवसाय बनाएको छैन । तपाईंले चिन्नु हुन्छ, डोल्पाका केही नेताले राजनीतिलाई व्यवसाय बनाएका छन् । म त्यो कुराको घोर विरोध गर्छु । मैले राजनितिलाई विशुद्ध जनताको सेवाको रूपमा लिएको छु । यसकारण पनि म राजनीतिलाई व्यवसाय भन्दा परबाट बुझ्छु । राजनीति र व्यवसाय फरक कुरा हुन् । तर, जीवन धान्न व्यवसाय चाहिन्छ । त्यसलाई पनि सन्तुलनमा राख्नुपर्छ । 

    ६. अन्तमा तपाईं इन्द्रेणीपोष्ट डटकममार्फत केही भन्न चाहानु हुन्छ ? 

    मेरा विचारहरूलाई जनता सामु पुर्याउने अवसर दिने इन्द्रेणीपोष्ट डटकमलाई जनताको वास्तविक खबरको पहरेदार बन्न सकोस् भन्ने शुभेच्छा राख्दै नजिकिँदै गरेको विजया दशमीको शुभकामना ब्यक्त गर्दछु । धन्यबाद !
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij