शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राष्ट्रिय सम्मेलनले विचारको नवीकरण गर्नेछ : नेता आचार्य


  • 7.5K
    SHARES
  • https://indrenipost.com/posts/2080
    मंसिर १०, २०७८ शुक्रबार
    राष्ट्रिय सम्मेलनले विचारको नवीकरण गर्नेछ : नेता आचार्य

    नेकपा (माओवादी केन्द्र) भित्र वैचारिक रुपमा अध्ययनशिल छवि बनाएका चर्चित युवा नेता रामदिप आचार्य कर्णाली प्रदेश संगठन समितिका सचिव तथा केन्द्रीय सदस्य हुन् । ब्रह्माण्डको इतिहास र भविष्य, जीवहरुको उत्पति र विकास, मानव जातिको इतिहास र विकास प्रक्रिया, मानव मष्तिष्कले कसरी काम गर्दछ, कृतिम बौद्धिकता र यसका चुनौतिहरु र हालसालै एक्काइसौँ शताब्दीको साम्राज्यवादबारे अध्ययन गरिरहेका आचार्यसँग इन्द्रेणीपोष्टले गरेको कुराकानीको सम्पादित अंश :

    १. देशैभरी पार्टी संगठित सदस्यता नविकरण अभियान सञ्चालन गर्नुभयो कस्तो पाउनु भयो नतिजा ?

    माओवादी एक आन्दोलन थियो, एक अभियान थियो र एक जागरण थियो । त्यसले नेपाली समाजमा उथल पुथल ल्याइदियो । बाह्र हजार वर्ष पुरानो पितृसत्तावादको जरामाथि निर्मम प्रहार गर्यो । तीन हजार वर्ष पुरानो वर्णाश्रम व्यवस्थाको मुटु हल्लाइदियो । अढाई सय वर्ष पुरानो सामन्तवादको राजनैतिक प्रतिनिधि संस्था राजतन्त्रको समूल अन्त्य गरिदियो । राज्यलाई धर्मबाट अगल गर्यो । एकात्मक र केन्द्रीकृत प्रणालीको स्थानमा संघात्मक , समानुपातिक र समावेशी प्रणालीको स्थापना गर्यो । माओवादी जनयुद्धले देखिने गरी गरेका परिवर्तनहरु हुन् यी । यो आन्दोलन, अभियान र जागरण भएकोले निरन्तर चलिरहनु पर्दथ्यो, कतै विश्राम भयो, कतै अलमल भयो । माओवादी अब फेरी नयाँ उत्साहका साथ जनतामा पुगेको छ । नविकरणको काम पनि उभारका रुपमा भयो ।
          
    २ं अब के गर्दै हुनुहुन्छ, नविकरण पछि ?

    संगठित सदस्यको नविकरणको काम मोटामोटी सकिएको छ । त्यसले संगठनात्मक सुदृढिकरणको आधार खडा गरेको छ । न्यूनतम तीन वटा सेल समिति बराबर एक टोल समिति, न्यूनतम तीन वटा टोल समिति बराबर वडा समिति, पालिका समिति, जिल्ला समन्वय समिति, प्रदेश समिति र केन्द्रीय समिति हाम्रो संगठनात्मक संरचना हुनेछ । नेपालमा संघियताको प्रस्तावक, पहलकर्ता र निर्णयकर्ताको हैसियतले हाम्रो संगठनात्मक ढाँचा पनि राज्यको संघात्मक ढाँचा अनुरुपको हुनुपर्दछ भन्ने मान्यताको आधारमा पालिका, प्रदेश र केन्द्रलाई कार्यकारी समिति बनाउने निर्णय गरेका छौँ र त्यसलाई कार्यन्वयनमा लिने गरी सम्मेलनहरु गर्दैछाँै ।

    ३ं. तपाईंको राष्टिय सम्मेलनले खासमा के गर्नेछ ?

    संगठनात्मक नविकरण र सुदृढिकरणको उच्चतम् अभिव्यक्ति राष्टिय सम्मेलनमा देखिनेछ । सुदृढ, विशाल र अझ उन्नत रुपमा  एकताबद्ध पार्टी निर्माण हाम्रो उद्देस्य हो । जुन् पार्टी एक्काइसाँै शताब्दीको समुन्नत विचारले लैस होओस् ।समाजवादी क्रान्तिको अगुवाई गर्न सक्षम बनोस् ।
          
    गत केन्द्रीय समितिको वैठकमा अध्यक्ष कमरेड प्रचण्डद्धारा २१औँ शताब्दीको बैज्ञानिक समाजवादको प्रस्ताव प्रस्तुत गरिएको थियो । राष्टिय सम्मेलनले त्यस भ्रुणलाई बच्चाको आकार दिनेछ । आजको नेपालको अवस्था र विश्व मानव जातिको अवस्था, एकाधिकार पूँजीवादी साम्रज्यवादको अवस्था र समाजवादको अवस्थाको बैज्ञानिक र वस्तुनिष्ठ विश्लेषण र संश्लेषण गर्दै समुन्नत विचार निर्माण गर्नु आजको आवश्कता हो । हाम्रो राष्टिय सम्मेलनले त्यो काम गर्नेछ ।

    विश्व आज संक्रमणकालबाट गुज्रिरहेको छ । पुरानो विचार, प्रणाली र संरचनामा नयाँ विचार, प्रणाली र संरचनाले ठाउँ खोजिरहेको छ । नेपाल त्यो संक्रमणकालको अग्रणी स्थानमा छ । एकाधिकार, पुँजी निर्यात र उपनिवेशहरुमा आधारित पँुजीवादी साम्राज्यवाद पुरानै ढंगले टिक्न नसक्ने अवस्थामा छ । वर्ग विभेदमा आधारित, लुट र नाफामा टिकेको, नवउदारवादी भूमण्डलिकरणको जामा पहिरिएको साम्राज्यवाद अन्तिम संकटको श्वास फेरिरहेको छ । समातावादी, जनआधारित, प्रकृतिमैत्री नयाँ समाजवाद अपरिहार्य भैसकेको छ ।
           
    हाम्रो समाजवाद १९औं र २०सौं शताब्दीका समाजवादका सकारात्मक र नकारात्मक अनुभवहरुको शिक्षा सहित, आफैप्रति निर्मम  समिक्षा गरेर, वैज्ञानिक विचारधारात्मक जगमा उभिएर संश्लेषण हुनेछ । मानव जाति आज समुन्नत ज्ञान भण्डारले लैस छ । महाविस्फोट देखि महासंकुचन सम्मको वैज्ञानिक खोजले हाम्रो दृष्टिकोणलाई सही, वैज्ञानिक र यथार्थवादी बनाइदिएको छ । ब्रह्माण्डको स्थुल जथत्को विशाल अध्ययन देखि क्वान्टम सिद्धान्तको सुक्ष्म जगतको अध्ययन सम्मले मानव जातिको आज सम्मको सोच्ने तरिकामा क्रान्ति ल्याइदियो ।

    जसरी न्यूटनको गुरुत्वबलको नियम र आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड र स्थुल जगत सम्बन्धि अध्ययनमा क्रान्ति ल्याएको थियो त्यसरी नै चाल्र्स डार्विनको प्राकृतिक छनौटको सिद्धान्तले ईश्वरले सृष्टिको रचना गरेको भ्रामक विचारमाथि प्रहार गरेर साढे चार अर्ब वर्षको हाम्रो विकास प्रक्रिया र ज्ञानलाई सही दिशा दिएको थियो । कार्ल माक्र्सको ऐतिहासिक भौतिकवादले मानव समाजको अध्ययनको लागि त्यस्तै आधार खडा गरेको थियो भने अतिरिक्त मूल्यको सिद्धान्तको बैज्ञानिक खोजले पुँजीवाद चीर स्थायी छ भन्ने भ्रामक विचारमाथि बज्र प्रहार गरेकोे थियो । आज क्वान्टम सिद्धान्तले हाम्रो ज्ञानको पुरानो जग र पर्खालहरु सबै नौ रेक्टर स्केलको भूइँचालोले जस्तै भत्काई दिएको छ र ज्ञानको नयाँ आधार खडा गरिदिएको छ । मानव ज्ञान र अनुसन्धानको दायरालाई व्यापक बनाईदिएको छ ।

    यसमा मानव मष्तिष्क परियोजनाको समायोजनले झनै आश्चर्यजनक नतिजाहरु निकालिरहेको छ । हाम्रो समाजवाद ती भब्य र समृद्ध ज्ञान भण्डारको जगमा खडा हुनु पर्दछ जुन मानव जातिले आर्जन गरेको छ । हाम्रो राष्टिय सम्मेलनले मुख्यगरी विचारमा नविकरण गर्नेछ । हाम्रो संगठनात्मक संरचनामा नविकरण गर्नेछ । हाम्रो कार्यशैली र जनसम्बन्धमा नविकरण गर्नेछ । हाम्रो देशको राजनैतिक प्रणालीमा नविकरण गर्न योगदान गर्नेछ ।

    ४. २०सौँ शताब्दीमा समाजावादको प्रयोगमा के के समस्याहरु रहे ?

    संस्थागत ढंगले अनुसन्धान गरेर हामीले बुँदागत निष्कर्ष निकाल्न बाँकी नै छ । तैपनि हामी विष्लेषण गर्न सक्छाँै कि सोभियत संघको अगुवाईमा अभ्यास भइरहेको समाजवाद पुँजीवादी विकल्पको समाज व्यवस्था थियो । शुरुमा सिंगो मानव जातिलाई नयाँ प्रेरणा र दिशा दिएको थियो । रणनैतिक ढंगले सोच्नै नपाई सोभियत संघ आन्तरिक संघर्ष र बाह्य रुपमा दोश्रो विश्व युद्धमा प्रवेश गरिहाल्यो ।

    खासगरी एक,समाजवादी सत्ता सञ्चालकहरुले जनताको वीचमा निरन्तर नवीकरण हुने संयंत्रको विकास गर्न सकेनन् । दुई, पुँजीवादी समाजका संक्रामक रोगहरुको दुस्प्रभावहरु हटाउने उपाय विकास गर्न सकेनन् । तीन, समाजको गर्भभित्र हुर्किरहेका परिवर्तनहरु विशेष गरि वैज्ञानिक प्राविधिक क्रान्तिका ज्वारभाटाहरु या त देख्न सकेनन् या त नजर अन्दाज गरे । चार, नयाँ अन्तरविरोधहरुलाई पुराना बनिबनाउ सूत्रहरुद्धारा हल गर्न प्रयत्न गरे ।

    माक्र्सवाद गतिशिल विज्ञान हो । विज्ञानले प्रयोगको क्रममा मूलपक्ष समृद्ध हुँदै जान्छ भने अप्रसांगिक पक्ष त्याज्य हुन्छ भन्ने सच्चाईलाई बुझेनन् बरु सूत्रको रुपमा सिद्धान्तलाई जबर्जस्त लागू गर्ने प्रयत्न गरे । बैज्ञानिक र गतिशिल विचारको प्रकाशमा मात्रै समाजवादको यात्रा संभव हुन्थ्यो, हुन्छ र हुनेछ ।
             
    ५. अन्य पार्टीहरुसँगको प्रतिस्पर्धामा कसरी श्रेष्ठता हासिल गर्दै हुनुहन्छ ?

    नेपालका सबैजसो पार्टीहरु एउटै साझा समस्याबाट गुज्रिरहेका छन् त्यो हो वैचारिक टाट पल्टाई । विपी र दुहुनो गाईको कथा हालेर काँग्रेसले ढुकढुकी चलाई रहेको छ । वैचारिक नयाँपनको कुनै गुञ्जायस नै छैन त्यहाँ । काँग्रेसले कति सालमा के के गर्यो भनेर कथा मात्रै सुनाउँछन् अब काँग्रेसले के गर्छ कसैले भन्दैन ।

    एमाले त केपी ओलीको प्राली भइसक्यो । सस्तो लोकप्रियतावादबाट ग्रसित नीजि कम्पनि । कुनै बेला केपी वली प्रतिगमनको नाइके हो भनेर कुर्लि कुर्लि भाषण गर्नेहरु मध्यका केही त बालकोटमा गएर पदको भिख मागिरहेको लाचार अवस्था हेर्दा सबै कुरा छर्लगैँ हुन्छ । अब एमालेमा जबजको मात्रै धेरै व्यापार हुने नदेखेर बनिँयाका नाइके केपी ओली काल्पनिक अयोध्या खडा गरेर तथाकथित राम राज्यको हावा दिँदैछन् ।

    कुनै पनि एमालेको दिग्गज नेताले त्यसको खण्डन समेत गरेको पाइदैन । हामी पनि उही पुरानै विचार, शैली र संरचनामा डुबुल्कि मार्ने हो भने औचित्य गुमाउने छौँ । नयाँ गर्ने र श्रेष्ठता हासिल गर्ने अवसर हामीलाई छ ।

    ६. माओवादीधाराहरु र अन्य घटकहरुबीच एकताको संभावना कति छ ?

    संभव र आवश्यक दुवै छ । हाम्रो आवश्यकताले संभवनालाई यथार्थमा रुपान्तरण गरिदिन्छ । यो बाटो नहिडे हामी सिद्धिन्छौँ । टाढा जानै 
    पर्दैन मात्रै भारत हेरे पुग्छ ,लगभग दुई दर्जन जति घटकहरु छन् ती सबैले आफुलाई चौबिस क्यारेटको क्रान्तिकारी र योग्य घोषणा गर्दछन् । परिधिका मान्छेको पक्षमा लड्नु पर्ने पार्टी अहिले आफै परिधिमै पुगिसक्यो । नसिद्धिए सम्म दिमाग नखुल्ने मनोरोगबाट हामी पनि मुक्त हुनुपर्दछ । यसको सही र व्यवहारिक पहलकदमी हामीले नै लिनु पर्दछ ।
       
    ७. अबका चुनौतीहरु के के छन् ?

    अन्तिम संकटसँग जुधिरहेको तर ढलिनसकेको भूमण्डलिकृत साम्राज्यवाद मानव जातिकै अस्तित्वका लागि ठूलो खतरा हो । यसले दुई ठूला समस्याहरु पैदा गरेको छ । पहिलो, पुँजीको अत्यधिक केन्द्रीकरणले धनि र गरीबका बीचको खाडल मानव जातिकै इतिहासमा गहिरो बनाएको छ । हामी मान्छे र प्रकृतिका बीचको सम्बन्धमा असाधारण दरार पैदा गरिदिएको छ । यी दुवै नाफा र लुटसँग जोडिएका छन् ।

    यो ब्रह्माण्डको अनुमानित दुई अर्ब खर्ब ग्रहहरुमध्ये जीवको अस्तित्व भएको ज्ञात ग्रह पृथ्वी मात्रै हो । यसैलाई संकटमा धकेलेर यो ब्रह्माण्डलाई निरस र उजाड बनाउने काम लुटेरा पँुजीवादले गरिरहेको छ । समातावादी र प्रकृतिमैत्री समाजावाद निर्माण गरेर यसको समाधान गर्नु आज अपरिहार्य भैसकेको छ । मानव निर्मित तेश्रो ठूलो समस्या कृत्रिम बौद्धिकता हो । जसले हाम्रो मसल र मष्तिष्कले गर्ने काम मात्रै विस्थापित गरिरहेको छैन हाम्रो छनौटको अधिकार पनि हडप्दैछ ।

    चौथो ठूलो समस्या तेश्रो समस्याले पैदा गरेको प्राविधिक बेरोजगारी हो । मानव इतिहासमा पहिलो पटक कामको अन्त्य हुन लागेको छ । कामले अन्य पशु जगत्बाट मान्छेलाई अलग गरेको हो त्यही अलग गर्ने पहिचान मेटीन लागेको छ । संकटलाई अवसरमा बदल्ने चुनौति हाम्रा सामु छ ।

    ८. तपाईंले बारम्बार भन्ने गरेको डिजिटल युगको बारेमा ?
        
    डिजिटल युगको अवधारण मेरो देन होइन । मैले त प्रयोग मात्रै गरेको हुँ । मानव जातिले प्रयोग गर्ने औजारको आधारमा त्यस समाजलाई चिन्ने गरेको नयाँ होइन । जंगली युगमा प्रयोग हुने औजारको आधारमा ढुँगे युग, कुटो, कोदालो र हलो प्रयोग हुने आधारमा कृषि युग, मसलले गर्ने काम मेसिनले गर्ने आधारमा औद्योगिक युग भने जस्तै आज हामीले प्रयोग गरेको औजारको आधारमा यसलाई डिजिटल युग भनिएको हो । सात अर्ब नब्बे करोड अर्थात् यस भुमण्डलका सबै मान्छे एउटै इन्टरनेट भन्ने सञ्जालमा जोडिएको पहिलो पटक हो । यस अघि यस्तो कहिल्यै भएको थिएन ।

    हामी यो बाटो हिँड्ने प्रयत्न त गरेका छौँ तर गति एकदम धिमा छ । पार्टी सदस्यको डिजिटल प्रवेश गराएका छौँ । पार्टीको वेवसाइट खोलेका छौँ । प्रचारको पहिलो मोर्चा सामाजिक सञ्जाल बनाएका छौँ । सैद्धान्तिक संष्लेषण सहीत यस मोर्चामा योग्यता हासिल गर्ने चुनौती हामीसँग छ । हामीले गर्नेपर्दछ । माक्र्सले सून्दर ढंगले परिभाषा गरेका छन् कि दर्शन भनेको समकालिन समयको बौद्धिक सार हो । आजको समयको बौद्धिक सार हामीले नै निकाल्नु परेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij