काठमाडौं । १४औँ महाधिवेशनमा नेपाली काँग्रेसको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ ।
निर्वाचन समितिले आज अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । निर्वाचन समितिले आज १२ः३० बजेसम्म मनोनयन फिर्ता लिने समय निर्धारण गरे पनि केही समय थप गरिएको थियो । त्यसपछि फिर्ता भएसँगै नामावली सार्वजनिक गरेको हो ।
निर्वाचन समितिले सार्वजनिक गरे अनुसार सभापति पदमा पाँच जनाको उम्मेदवारी परेको छ । नेताहरू शेरबहादुर देउवा, कल्याण गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाले उम्मेदवारी दिएका छन् । सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानले उम्मेदवारी फिर्ता लिएका छन् ।
केन्द्रीय उपसभापतिको दुई सिटको लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसै गरी केन्द्रीय महामन्त्रीको दुई वटा पदमा ६ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै १२१ केन्द्रीय सदस्य पदको लागि ५४८ जनाले मनोनय दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।