काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान सुरु हुन ढिलाइ भएको छ । आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ९ बजेसम्म पनि सुरु भएको छैन ।
मतदान सुरु हुन अझै करिब एक घण्टा लाग्ने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बुथमा खटिने उमेदवारका प्रतिनिधिको टुंगो नलागेको र केही आवश्यक तयारी पूरा नहुँदा मतदान सुरु हुन नसकेको निर्वाचन समितिका पदाधिकारीले बताएका छन् ।
सबै व्यवस्था मिलाएर बिहान करिब साढे १० बजेपछि मात्रै मतदान सुरु हुने समितिका पदाधिकारीको भनाइ छ ।
नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ । मतदाताहरू लाइनमा छन् । मतदानपश्चात् आजै मतगणना सुरु गर्ने तयारी छ ।